शुक्रबार, ७ वैशाख २०८१

हामी दिगो बैङ्किङमा विश्वास गर्दछौँ 

माछापुच्छ्रे बैङ्कका सीईओ सन्तोष कोइरालाको अन्तर्वार्ता

समयपोष्ट २०७७ भदौ १५ गते १४:२३

Advertisement

माछापुच्छ्रे  बैङ्कको अहिलेको अवस्था कस्तो छ, यो वर्षका योजना के छन् ?

माछापुच्छ्रे बैङ्कले विगतमा आक्रामक व्यवसाय एवं शाखा विस्तार गरी उल्लेख्य प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म बैङ्कले रु. १६.८२ अर्ब कर्जा प्रवाह गरेर कुल कर्जा ९४.५५ अर्ब पुर्याएको छ भने सोही अवधिमा १७.२२ अर्ब निक्षेप सङ्कलन एवं रु. ३ अर्ब बराबरको ऋण पत्र पूर्ण रूपमा बिक्री गरी कुल २०.२२ अर्ब बराबरको स्रोत जुटाउन सफल भएको थियो । संस्थागत सुशासनको सवालमा माछापुच्छ्रे बैङ्क सधैँ अब्बल छ र रहिरहनेछ । हामी दिगो बैङ्किङमा विश्वास गर्दछौँ । निक्षेप सङ्कलन एवं कर्जा लगानीका विभिन्न नयाँ प्रोडक्ट ल्याएर ग्राहक वर्गको सेवामा दत्तचित्त भई लागिरहने योजनामा हामी काम गरिरहेका छौँ । साथै माछापुच्छ्रे बैङ्क अत्याधुनिक प्रविधि सहितका सेवा सुविधा प्रदान गर्ने कुरामा पनि निकै अगाडि रहेको छ । जसको पछिल्लो उदाहरण हो अन्तर्राष्ट्रिय प्रविधिमा आधारित ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ जस अन्तर्गत ग्राहकले जुनसुकै समयमा जहाँ कहीबाट एक कल फोन गरेको आधारमा बैङ्कको सेवा सुविधाका बारेमा जानकारी लिन सक्नुहुनेछ ।

यो वर्ष अझै माछापुच्छ्रे बैङ्कलाई प्रविधि मैत्री बनाउनमा जोड दिने छौ । हाल कोभिड–१९ ले बैङ्कलाई थप चुनौतीका साथसाथै प्रविधिलाई सही ढङ्गले व्यवस्थापन गर्ने ठूलो अवसरसमेत प्रदान गरेको छ । कोरोना अहिलेको विश्वव्यापी चुनौती हो, यो चुनौतीले हाम्रो जस्तो विकासोन्मुख देशलाई धेरै नै असर गरेको छ । अब यसलाई समस्याभन्दा पनि अवसरका रूपमा लिएर अगाडि बढ्नुको विकल्प छैन जस्तो मलाई लाग्छ । माछापुच्छ्रे बैङ्कको उद्देश्य सबै ग्राहकले घरै बसी सम्पूर्ण बैङ्किङ सुविधा उपभोग गर्न सकून् भन्ने हो । त्यस अनुरूप हामीसँग भएका प्रविधिलाई सबैले सबै ठाउँबाट प्रयोग गर्न सक्नेगरी सहज र सरल कसरी बनाउने र ती प्रविधिमा अतिरिक्त सुविधा थप गर्दै लैजाने कुरा यो वर्ष हाम्रो विशेष प्राथमिकतामा रहनेछ ।

कोभिड–१९ र लकडाउनले बैङ्कलाई कत्तिको असर पारिरहेको छ ?

कोभिड–१९ र यसका कारणले सिर्जना भएको लकडाउनले गर्दा बैङ्किङ क्षेत्र मात्र नभएर देशको अर्थतन्त्रमा नै ठूलो असर गरेको छ । हाल बैङ्किङ क्षेत्रमा धेरै तरलता देखिए पनि कोभिड–१९ का कारण तत्काल लगानी योग्य वातावरण सिर्जना हुन सक्ने देखिँदैन र तरलता पनि ‘सर्ट टर्म’ का लागि मात्र हो कि जस्तो देखिन्छ । लकडाउन पश्चात् विभिन्न समयमा राष्ट्र बैङ्कबाट जारी भएका निर्देशन अनुसार बैङ्कको नाफामा केही सङ्कुचन आएको छ । प्रोभिजन पनि थप्नुपर्ने अवस्था सिर्जना भएको छ । कोभिड–१९ ले असर पुर्याएका व्यवसायमा केही प्रोभिजन थपेर जानु सकारात्मक नै हो जस्तो मलाई लाग्छ । अझै पनि कोभिड–१९ को जोखिम कायमै रहिरहेका कारण अहिले नै कुन क्षेत्रका ग्राहकलाई कति असर परेको छ छुट्याउन गाह्रो परिरहेको छ  । एक चौथाइको रोजगारी गुमेको खबर पनि आइरहेका छन् । सबैभन्दा डर लाग्दो कुरा त के छ भने तत्काल कोभिडको समाधान देखिँदैन । त्यसैले अहिले नै बैङ्किङ क्षेत्रमा परेको असरको आकलन गर्ने स्थिति भने अझै देखिँदैन ।

अब आउँदा दिनमा हरेक क्षेत्रका ग्राहक वर्गलाई बैङ्किङ दायरामा लिएर आउन र बैङ्कलाई पनि ‘भोलुम बेस बिजनेस’ गरेर आफूलाई झन् अब्बल र मजबुत बनाउन यो वर्षको मौद्रिक नीतिले प्रोत्साहित गर्छ ।

भर्खर सार्वजनिक भएको मौद्रिक नीतिलाई निजी क्षेत्रले निकै रुचायो तर बैङ्कबाट प्राइसिङ लगायतका कुरामा केही गुनासा पनि आए, तपाईंलाई व्यक्तिगत रूपमा कस्तो लाग्यो ?

हाल ‘बाँच र बचाउँ’को अवस्थामा सार्वजनिक गरिएको मौद्रिक नीतिलाई मैले धेरै सकारात्मक रूपमा लिएको छु । बैङ्किङ क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा देख्दा र कोभिडले निम्त्याएको यो परिस्थिति हेरेर प्राइसिङ लगायतका अन्य कुरामा नियामक निकायले बोल्नु समयसापेक्ष जस्तो लाग्छ । अब आउँदा दिनमा हरेक क्षेत्रका ग्राहक वर्गलाई बैङ्किङ दायरामा लिएर आउन र बैङ्कलाई पनि ‘भोलुम बेस बिजनेस’ गरेर आफूलाई झन् अब्बल र मजबुत बनाउन यो वर्षको मौद्रिक नीतिले प्रोत्साहित गर्छ ।

आजको आवश्यकता भनेको कसरी मिलेर बाच्ने भन्ने हुनुपर्छ । ग्राहक रहे भने नै बैङ्क रहन्छन् भन्ने सिद्धान्त अनुशरण गरेर कोरोनाबाट बढी प्रभावित व्यवसाय एवं ग्राहक वर्गलाई सहुलियत दिने निर्णय सकारात्मक रूपमा नै लिनुपर्दछ जस्तो लाग्छ ।

सरकारले दिने राहत बैङ्कले दिँदै जाँदा बैङ्किङ प्रणाली बिग्रन्छ, जोखिमतिर जान्छ भनेर चिन्ता गर्ने पनि छन्, यहाँलाई के लाग्छ  ?

तपाईले  भने जस्तै सरकारले दिने राहत बैङ्कले पक्कै पनि दिने होइनन्, त्यसमा दुईमत नै छैन तर समय, काल र परिस्थिति हेरेर गरिएको यो निर्णय सबैले बुझ्नु उत्तिकै आवश्यक छ । आजको आवश्यकता भनेको कसरी मिलेर बाच्ने भन्ने हुनुपर्छ । ग्राहक रहे भने नै बैङ्क रहन्छन् भन्ने सिद्धान्त अनुशरण गरेर कोरोनाबाट बढी प्रभावित व्यवसाय एवं ग्राहक वर्गलाई सहुलियत दिने निर्णय सकारात्मक रूपमा नै लिनुपर्दछ जस्तो लाग्छ । नाफामा सङ्कुचन आए पनि दीर्घकालीन व्यवसाय गर्ने बैङ्क जस्ता संस्थाले छोटो समयका लागि सहुलियत प्रदान गर्नु आजको आवश्यकता पनि हो । यो अल्पकालीन सहुलियत भएको हुनाले दीर्घकालसम्म असर गर्छ जस्तो मलाई लाग्दैन

सरकारले ल्याएका सहुलियतपूर्ण कर्जामा बैङ्क किन आकर्षित हुन सकेका छैनन् ? समस्या के छन् ?

बैङ्कको जिम्मेवारी सोचेभन्दा पनि ज्यादै पृथक् छ । ग्राहकले दुःख गरेर आर्जेको पैसा विश्वासका साथ बैङ्कमा राखेका हुन्छन् । त्यसैले हामीले एक रुपियाँ पनि लगानी गर्दा सबै कुराको ख्याल राख्नुपर्छ ।

सरकारले ल्याएको सहुलियतपूर्ण कर्जामा बैङ्कले लगानी नगरेका पक्कै होइनन् तर आशातीत मात्रामा लगानी भएको देखिँदैन । त्यस्ता सहुलियतपूर्ण कर्जा जुन क्षेत्रमा लगानीका लागि भनेर हामीले कर्जा प्रवाह गरेका हुन्छौँ त्यसको सही ठाउँमा सदुपयोग भएको छ कि छैन भन्ने मुख्य कुरा हो । यस्तो कर्जाको माग भए अनुसार बैङ्कले कर्जा प्रवाह गरिरहेकै छन् जस्तो लाग्छ । त्यस्तो ऋणको ब्याज समयमा उठ्न सक्छ कि सक्दैन, सही ठाउँमा उपयोग हुन्छ कि हुँदैन भनेर बैङ्कले विश्लेषण गरेर मात्र कर्जा प्रवाह गर्ने हुँदा सोचे जस्तो धेरै लगानी नभएको हो जस्तो मलाई लाग्छ ।

राष्ट्र बैङ्कले बैङ्कलाई अति माइक्रो म्यानेजमेन्ट गरेको देखिन्छ, यसमा बैङ्ककै अस्वस्थ प्रतिस्पर्धा पनि हो भनिन्छ, के लाग्छ यहाँलाई ?

छिमेकी मुलुक भारतमा केन्द्रीय बैङ्कले गरेको माइक्रो म्यानेजमेन्ट हेर्ने हो भने हाम्रो देशमा ल्याएका नयाँ प्रावधान खासै धेरै होइनन् तर पनि तपाईंले भने जस्तै हाल नेपालको बैङ्किङ क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा यसको मुख्य कारण भने अवश्य हो जस्तो लाग्छ । नियामक निकायले केही हदसम्म नियमन गर्नु जायज कुरा हो । बैङ्कबीच अस्वस्थ प्रतिस्पर्धा भयो भने केन्द्रीय बैङ्कले नियमन गर्नु अस्वाभाविक होइन । एउटै प्रकृतिको काम गर्ने लाइसेन्स पाएका संस्थाले नियमनकारी निकायको मातहतमा रहेर ग्राहकलाई एकै प्रकृतिका सेवा सुविधा प्रदान गर्नु जरुरी पनि छ ।

मौद्रिक नीतिले मर्जरलाई प्रोत्साहन गर्ने भनेको छ, माछापुच्छ्रे बैङ्क पनि कमर्सियल बैङ्कसँग मर्जरमा जाने कुनै योजना छ कि ?

सर्वप्रथम मर्जर केका लागि भन्ने बुझ्न जरुरी छ । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैङ्कले बिग मर्जरलाई प्रोत्साहित गर्न खोजिएको जस्तो देखिएको छ । हामी पनि मर्जरका लागि खुला छौं  र उपयुक्त साथी र समयको पखाइमा छौँ ।

हामीले हाम्रो अधिकांश काम कागजविहीन प्रविधिमा आधारित बनाउन प्रयास गरिरहेका छौँ । माछापुच्छ्रे बैङ्कका ग्राहकले अहिले पनि घरमै बसेर क्षणभरमा मोबाइलबाट मुद्दती खाता खोली बचत गर्नेदेखि ऋणका लागि आवेदन दिने सम्मको प्रविधिको विकास हामीले गरिसकेका छौँ ।

माछापुच्छ्रे बैङ्कमा विभिन्न तह हुँदै अहिले प्रमुख कार्यकारी अधिकृतमा रहेर नेतृत्व गरिरहनुभएको छ, बैङ्कलाई अरूभन्दा पृथक् बनाएर कसरी लैजाँदै हुनुहुन्छ, के छन् आगामी योजना ?

प्रतिस्पर्धाको अहिलेको समयमा आफूलाई अस्तित्वमा राख्न कुनै न कुनै रूपमा फरकपन हुन जरुरी छ, त्यसैले हामीले हाम्रो अधिकांश काम कागजविहीन प्रविधिमा आधारित बनाउन प्रयास गरिरहेका छौँ । माछापुच्छ्रे बैङ्कका ग्राहकले अहिले पनि घरमै बसेर क्षणभरमा मोबाइलबाट मुद्दती खाता खोली बचत गर्नेदेखि ऋणका लागि आवेदन दिने सम्मको प्रविधिको विकास हामीले गरिसकेका छौँ । त्यस्तै विदेशमा रहेका नेपालीले आफ्नो घरपरिवारमा सजिलै पैसा पठाउन सकून भन्ने उद्देश्यले छिट्टै नै रेमिट वालेट लिएर आउँदैछौँ ।
यति मात्र नभएर हाम्रो मोबाइल बैङ्किङ एप ‘माछापुच्छ्रे मोबाइल मनी’लाई अझ परिमार्जित र परिस्कृत बनाएर लाने योजनामा छौँ । यसका साथै केही समयअघि मात्र कर्पोरेट इन्टरनेट बैङ्किङ, ग्रिन पिन लगायतका नयाँ–नयाँ प्रविधि ग्राहकमाझ ल्याइसकेका छौँ । ग्राहकको सुविधाका लागि ग्राहकको सम्पूर्ण विवरण समावेश गरेर ‘कन्ट्याक्ट लेस कार्ड’ छिट्टै नै ल्याउने तयारी गरिरहेका छौँ । देशका हरेक क्षेत्र र वर्गसम्म बैङ्किङ पहुँच पुर्याउने उद्देश्यले खोलिएका शाखारहित बैङ्किङ सेवा अझ सुदृढ गरी सरल र सहज बनाउनेतर्फ पनि हामी लागि परिरहेका छौँ ।

कार्यालय काम गर्ने थलोभन्दा पनि परिवार जस्तो हुनुपर्दछ भन्ने मान्यता राख्ने मान्छे भएको हुनाले पनि मलाई मानव संसाधन र सही व्यक्तिको सही स्थानमा सदुपयोग हुनुपर्दछ भन्ने लाग्छ । जुन कुरा माछापुच्छ्रे बैङ्कको सबल पक्ष हो ।

प्रमुख कार्यकारी अधिकृतको हैसियतले ग्राहकलाई सेवा सुविधाका साथै बैङ्कमा कार्यरत कर्मचारीको सेवासुविधा र व्यक्तित्व विकासमा पनि उत्तिकै महत्व दिनु जरुरी कुरा हो जस्तो मलाई लाग्छ । अहिले जटिल परिस्थितिमा बैङ्कमा कार्यरत कर्मचारीको स्वास्थ्यमा ध्यान दिनु विशेष प्राथमिकताको विषय हो । त्यसैले हामीले सुरक्षा सावधानीका कुरादेखि लिएर कर्मचारीको कोरोना बिमा तथा तलबभत्ताका कुरामा कुनै पनि प्रकारको सम्झौता गरेका छैनौँ । कार्यालय काम गर्ने थलोभन्दा पनि परिवार जस्तो हुनुपर्दछ भन्ने मान्यता राख्ने मान्छे भएको हुनाले पनि मलाई मानव संसाधन र सही व्यक्तिको सही स्थानमा सदुपयोग हुनुपर्दछ भन्ने लाग्छ । जुन कुरा माछापुच्छ्रे बैङ्कको सबल पक्ष हो । यही पक्षका कारण आज हामी हाम्रा कर्मचारी साथीसँगै ग्राहकको विश्वास जित्दै अरूभन्दा पृथक् तरिकाले अगाडि बढिरहेका छौँ जस्तो मलाई लाग्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री