शुक्रबार, २१ वैशाख २०८१

बजारमा प्रतिस्पर्धी हुन बीमा योजनाका विशेषता र शुल्क आकर्षक हुनुपर्दछ

समयपोष्ट २०७७ भदौ १२ गते ११:१२

Advertisement

प्रभु लाइफ इन्स्योरेन्सको पछिल्लो अवस्था कस्तो छ ? कम्पनीको गत आर्थिक वर्षको परिणामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
वित्तीय र साङ्गठनिक हिसाबले प्रभु लाइफ इन्स्योरेन्स लि. को पछिल्लो अवस्थामा उल्लेख्य सुधार हुँदै आएको छ । पुँजी, जगेडा र जीवन बीमा कोषको अवस्था राम्रो छ । गत आ.व. २०७६/७७ मा कम्पनीले रु. ११९ करोड बीमा शुल्क सङ्कलन गर्न सफल भएको छ, जुन अघिल्लो आ.व.को तुलनामा १५४ प्रतिशतले बढी हो । समग्र बीमा व्यवसायमा कम्पनीको बजार हिस्सा पनि क्रमशः बढ्दै आएको छ । २०७४ मङ्सिरदेखि व्यावसायिक सञ्चालनमा आएको यो कम्पनीले छोटो समयमा अर्थात् करिब तीन वर्षको अवधिमा बजारमा आफ्नो पहिचान बनाई स्थापित भइसकेको छ । आउँदा दिनमा पनि कम्पनीले राम्रो गर्नेमा हामी पूर्ण विश्वस्त छौँ ।

कोरोना र लकडाउनले कम्पनीलाई कत्तिको असर पारेको छ ?
अहिले सम्पूर्ण विश्व कोभिड–१९ को (कोरोना भाइरस) महामारीको चपेटामा परिरहेको र शताब्दीकै सबैभन्दा ठूलो सङ्कट पैदा भएका कारण सन् २०२० मा विश्व अर्थतन्त्र ४.९ प्रतिशतले सङ्कुचन हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ । हाम्रो मुलुक मात्र नभएर सम्पूर्ण विश्व आक्रान्त छ भने एउटा मात्र नभएर सम्पूर्ण आर्थिक क्षेत्र प्रभावित छ । सामान्यतः सानो ठूलो होला तर सबै क्षेत्र प्रभावित छ । बीमा क्षेत्र प्रभावित नहुने कुरै भएन । चैत ११, २०७६ देखि मुलुक करिब तीन महिना पूर्ण लकडाउनको अवस्थामा रह्यो । आर्थिक क्रियाकलाप अवरुद्ध भए । स्थिति अझै पनि सामान्य भइसकेको छैन । पर्ख र हेरको अवस्था छ र सुरक्षात्मक उपाय अवलम्बन गर्दै जानुपरेको छ । त्यसैले यसबाट एउटा कम्पनी विशेष मात्र नभई समग्र आर्थिक क्षेत्र, मुलुक र सम्पूर्ण विश्व प्रभावित भएको अवस्था छ । सुरक्षात्मक उपाय अवलम्बन गर्दै धैर्य र संयमता अपनाई बीमा व्यवसाय विस्तारमा जोड दिँदै जानुपर्ने अवस्था छ ।

बीमाप्रति आकर्षित गर्ने कम्पनीका के–कस्ता प्रडक्ट छन् ?
बीमाप्रति आकर्षित गर्न सर्वप्रथम सम्भाव्य ग्राहक वर्ग र क्षेत्र पहिचान गर्नुपर्दछ । बजारको आवश्यकता र माग अनुरूप आजीवन, सावधिक र म्यादी बीमा योजना ल्याउन सक्नुपर्दछ । त्यस्ता बीमा योजना बजारमा प्रतिस्पर्धी हुन बीमा योजनाका विशेषता र बीमा शुल्क आकर्षक हुनुपर्दछ । अहिले हामीसँग १३/१४ वटा विभिन्न बीमा योजना छन् र यी प्रत्येक बीमा योजना निश्चित वर्गका लागि लक्ष्यित गरेर नै ल्याइएका हुन् । बीमा योजना गतिशील हुनुपर्ने र बजारको आवश्यकता हेरेर सम्बोधन गर्नुपर्ने हुँदा हामीले बर्सेनि केही न केही नयाँ बीमा योजना ल्याएका हुन्छौँ र यो कार्यलाई निरन्तरता दिई बीमाप्रति नागरिकलाई आकर्षित गर्ने प्रयत्नमा तल्लीन छौँ ।

Advertisement

जीवन बीमाका आधार स्तम्भ भनेकै अभिकर्ता हुन् । उनीहरूलाई व्यवसाय बढाउन के–कसरी अभिप्रेरित गर्नुभएको छ ?
निःसन्देह जीवन बीमाका आधार स्तम्भ भनेकै अभिकर्ता हुन् । कम्पनीका विभिन्न बीमा योजना बीमित समक्ष पुर्याए बापत अभिकर्ताले तोकिएको कमिसन पाउँछन् र यस्तो कमिसन सम्बन्धित ऐन/कानुनमा नै निर्दिष्ट गरिएको छ । यसका अतिरिक्त बीमा समितिको निर्देशनको परिधिभित्र रहेर विभिन्न प्रोत्साहन योजना पनि प्रस्ताव गरिएका हुन्छन् । कम्पनीसँग आबद्ध अभिकर्ता साथीलाई समय–समयमा तालिम, अन्तक्र्रिया, सभा, गोष्ठी र सेमिनारको माध्यमबाट कम्पनीका बीमा योजनाका विशेषताबारे बुझाउने र बीमा व्यवसाय प्रवद्र्धन गर्न सक्रिय बनाइराख्नुपर्ने हुन्छ । हाम्रो कम्पनीले पनि यस्ता क्रियाकलापमा निरन्तरता दिइरहेको छ । कोभिड–१९ को त्रासका कारण नियमित भेटघाट तथा प्रत्यक्ष अन्तक्र्रिया गर्न सकिएको अवस्था छैन तापनि मोबाइल, फोन र यस्तै अन्य विद्युतीय माध्यम मार्फत हामी हाम्रा अभिकर्तासँग नियमित सम्पर्क र संवादमा छौँ । यस अर्थमा बीमा व्यवसाय बढाउन हामीले हाम्रा अभिकर्ता साथीलाई निरन्तर अभिपे्ररित गरिरहेको अवस्था छ ।

आपूर्तिको कुरा गर्दा बीमा कम्पनी र बीमा योजनाको कुरा आउँछ भने माग पक्षले बीमाको व्यापक प्रचार–प्रसार मार्फत र बीमा गर्नु बीमितको हितमा हो भन्ने बुझाउन अनिवार्य छ । तसर्थ वित्तीय साक्षरतामा बढावा दिन सकिएको खण्डमा माग पक्ष स्वतः सबल हुनेहुँदा करकापको विषय पनि गौण हुन जान्छ ।

अहिलेसम्म पनि जीवन बीमा करकापमै हुने गरेको छ, बीमाप्रति नागरिकलाई जागरुक गराउन के गर्नुपर्ला ?
बीमाको पहुँच अहिले २२ प्रतिशत पुगेको तथा वैदेशिक रोजगार र म्यादी जीवन बीमासमेत गणना गर्दा २६ प्रतिशत पुगेको अनुमान छ । यो तथ्याङ्क २०७६ फागुनको हो र २०७७ असार मसान्त सम्ममा अरू केही प्रतिशत विन्दुले बढेको हुनुपर्दछ । बीमामा बचत र जोखिमविरुद्व रक्षावरण दुवै विशेषता अन्तर्निहित हुन्छन् । तसर्थ बढीभन्दा बढी नागरिकलाई बीमाको आवश्यकता र महत्व बुझाई बीमाको पहुँच बढाउनुपर्दछ । करकाप लगाउनुभन्दा पनि माग र आपूर्ति पक्षको यथोचित व्यवस्थापन हुनु आवश्यक छ । वित्तीय साक्षरता वा ज्ञानको विस्तार गरी बीमाको उपादेयताबारे आम नागरिकमा बुझाउन जरुरी छ । आपूर्तिको कुरा गर्दा बीमा कम्पनी र बीमा योजनाको कुरा आउँछ भने माग पक्षले बीमाको व्यापक प्रचार–प्रसार मार्फत र बीमा गर्नु बीमितको हितमा हो भन्ने बुझाउन अनिवार्य छ । तसर्थ वित्तीय साक्षरतामा बढावा दिन सकिएको खण्डमा माग पक्ष स्वतः सबल हुनेहुँदा करकापको विषय पनि गौण हुन जान्छ । अर्थात् बीमा आवश्यक हो भन्ने सन्देश सम्प्रेषण हुन जरुरी छ ।

अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अवलम्बन गरी नियमन र सुपरिवेक्षण प्रभावकारी बनाई बीमितको हित र सुरक्षा गर्नु पहिलो र प्रमुख विषय हो । सेवा प्रदायक अर्थात् बीमकले सुरक्षित र भरपर्दो बीमा सम्बन्धी सेवा दिई स्वस्थ ढङ्गबाट व्यवसायको प्रवद्र्धन हुनु पनि आवश्यक छ ।

तपाईं बैङ्किङ क्षेत्रबाट बीमा क्षेत्रमा आउनुभएको छ, बीमालाई बैङ्किङ क्षेत्रकै हाराहारीमा पुर्याउन के गर्नुपर्ला ?
यसमा दुई/तीनवटा कुरा हेर्नुपर्दछ । अहिले जीवन, निर्जीवन र पुनर्बीमा गरी ४० वटा कम्पनी सञ्चालनमा छन् । नियामक निकायका रूपमा बीमा समिति रहेको छ । अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अवलम्बन गरी नियमन र सुपरिवेक्षण प्रभावकारी बनाई बीमितको हित र सुरक्षा गर्नु पहिलो र प्रमुख विषय हो । सेवा प्रदायक अर्थात् बीमकले सुरक्षित र भरपर्दो बीमा सम्बन्धी सेवा दिई स्वस्थ ढङ्गबाट व्यवसायको प्रवद्र्धन हुनु पनि आवश्यक छ । अर्को विषय हो पहुँच। बीमाको पहुँच विस्तार हुनुपर्ने विषय माथि पनि प्रस्तुत भइसकेको छ । पहुँच विस्तार गर्न सेवा प्रदायकले प्रस्ताव गर्ने बीमाको सेवा र बीमितको चाहना वा आवश्यकताबीच यथोचित तालमेल मिल्नुपर्दछ । हाम्रो सन्दर्भमा भन्नुपर्दा नियमन र सुपरिवेक्षणका हिसाबले अन्य क्षेत्रको तुलनामा मुलुकको बैङ्किङ क्षेत्र बढी व्यवस्थित छ । नियामकको भूमिका प्रभावकारी हुँदै जाँदा नै स्थायित्व प्रवद्र्धन हुने हो । बीमा क्षेत्र पनि हिजोभन्दा आज व्यवस्थित र निर्देशित हुँदै गएको छ ।

बैङ्कासुरेन्सबारे विभिन्न बहस हुँदै आएका छन्, यो आवश्यक छ कि छैन ?
बैङ्कासुरेन्स बैङ्क÷वित्तीय संस्था र बीमा कम्पनी बीचको एउटा सम्झौता हो र यस अन्तर्गत बीमा कम्पनीले आफ्ना योजना बैङ्क÷वित्तीय संस्था मार्फत तिनका ग्राहकलाई बिक्री गर्छन् । यसो गर्दा बैङ्क/वित्तीय संस्थालाई अतिरिक्त आयआर्जन हुन्छ भने बीमा कम्पनीले अभिकर्ता बिना नै बीमा सेवा दिई ग्राहकको दायरा बढाएको हुन्छ । मूल कुरा बीमितलाई के फाइदा भयो भन्ने नै हो । बैङ्क/वित्तीय संस्थाले आफ्ना ग्राहक र खासगरी ऋणीलाई बीमा योजनामा अन्तर्निहित विशेषता बताउँदै ग्राहकको चाहना वा आवश्यकता अनुरूप बीमा कम्पनीका तर्फबाट बीमा लेख बिक्री गर्नुपर्ने हो । अर्थात् बीमा सेवाको आवश्यकता भए नभएको र त्यस्तो सेवा लिने नलिने पूर्ण स्वतन्त्रता ग्राहकलाई दिनुपर्ने हो र यसो हुन सकेको खण्डमा बैङ्क/वित्तीय संस्था, बीमा कम्पनी र बीमित सबै पक्ष लाभान्वित हुने अवस्था रहन्छ ।

यस अर्थमा बैङ्कासुरेन्सलाई राम्रो मान्न सकिन्छ । तोकिएको बीमा सेवा तोकिएको मूल्यमा तोकिएकै कम्पनीबाट लिनैपर्ने अनिवार्य वा बाध्यताका कारण बैङ्क/वित्तीय संस्थाका ग्राहकलाई अनावश्यक बोझका रूपमा थोपरियो भने यसलाई राम्रो मान्न सकिँदैन । त्यस्तै गुनासा आएर नै नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई बीमा अभिकर्ताको कार्य गर्न नपाउने व्यवस्था गरेको हुनुपर्दछ । कर्जाको सुरक्षणार्थ ऋणी स्वयंले छनोट गरेको बीमा कम्पनीबाट आवधिक जीवन बीमा गर्न रोकिएको छैन । तसर्थ मूल कुरा नै सम्बन्धित ग्राहकको राजीखुसी वा स्वेच्छा हो । सङ्क्षेपमा भन्दा वित्तीय सेवा प्रदायक साथीले आ–आफ्नो प्राथमिक कार्यमा नै जोड दिनुपर्छ र बीमा सेवा लिने वा नलिने स्वतन्त्रता ग्राहकलाई दिनुपर्छ ।

सेयरको सार्वजनिक निष्कासन गर्न निष्कासन प्रबन्धक र प्रत्याभूतिकर्ता (अन्डरराइटर) सँग सहमति भइसकेको छ भने क्रेडिट रेटिङको कार्य पनि भइसकेको छ । आ.व. २०७५/७६ को वित्तीय विवरणलाई अन्तिम रूप दिने कार्य पनि अन्तिम चरणमा छ र यो कार्य समाप्त हुनासाथ हामी छिट्टै नै सेयरको निष्कासनमा जान्छौँ ।

कम्पनीले कहिले आईपीओ जारी गर्छ, आगामी योजना के छन् ?
कम्पनीको योजना अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा नै सेयरको सार्वजनिक निष्कासन गर्ने कार्यक्रम थियो । केही प्राविधिक कारणले गर्दा सम्भव भएन । लकडाउनको अवस्थाले पनि असर गर्यो । सेयरको सार्वजनिक निष्कासन गर्न निष्कासन प्रबन्धक र प्रत्याभूतिकर्ता (अन्डरराइटर) सँग सहमति भइसकेको छ भने क्रेडिट रेटिङको कार्य पनि भइसकेको छ । आ.व. २०७५/७६ को वित्तीय विवरणलाई अन्तिम रूप दिने कार्य पनि अन्तिम चरणमा छ र यो कार्य समाप्त हुनासाथ हामी छिट्टै नै सेयरको निष्कासनमा जान्छौँ । अतः निकट भविष्यमा प्रभु लाइफ इन्स्योरेन्स लि.ले प्रतिसेयर रु. १००।– अङ्कित मूल्यका ६० लाख कित्ता अर्थात् रु. ६० करोडको साधारण सेयर निष्कासन गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री