शनिबार, ८ वैशाख २०८१

गोर्खाल्यान्ड आन्दोलनका कारण खाद्यसामाग्री महंगियो,उपभोक्ता मारमा

समयपोष्ट २०७४ भदौ १३ गते ६:११

भारतको पश्चिम बंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनका कारण इलामका पूर्वी सीमावर्ती बजारमा खाद्यान्नको भाउ बढेको छ ।

Advertisement

साढे तीन महिना लामो आमहडतालका कारण भारतीय उपभोक्ताले सीमावर्ती बजारसम्म आएर खाद्यान्न सामग्री किन्न थालेका छन् । 

आमहड्ताल शुरु भएपछि चामल, नुन, दाल, चिनी, चाउचाउ, चिउरा, तेललगायत सबैजसो खाद्यान्नको मूल्य बढेको स्थानीय उपभोक्ता बताउँछन् । ढुवानीको लगानी र भारतीय व्यापारीले बढी मूल्य तिरेर सामान लैजान थालेपछि व्यापारीले मूल्य बढाउँदा स्थानीय उपभोक्ता मारमा परेका छन् ।

पशुपतिनगरका मिलन क्षेत्रीका अनुसार पश्चिम बंगालको आमहडताल शुरु हुनुअघि २५ किलो चामलको मूल्य रु दुई हजार ६०० रहेकोमा अहिले त्यो मूल्य बढेर रु तीन हजारसम्म पुगेको छ । त्यस्तैगरी, दाल, चिनी, नुनलगायतका खाद्यान्नमा समेत १० प्रतिशतसम्म मूल्य बढेको उनले बताए । 
पशुपतिनगरलगायत सीमावर्ती बजारमा खुला सीमाको फाइदा उठाएर व्यापारीले खाद्यान्न ल्याउँदा मूल्य पनि कम थियो । अहिले सबैजसो सामग्री झापाको काँकडभिट्टा नाकाबाट ल्याउनुपर्दा मूल्य बढेको व्यापारी बताउँछन् । 

सबैजसो खाद्यान्न भारतबाटै आउने भएकाले मूल्य बढेको व्यापारी बताउँछन् । दार्जिलिङमा भइरहेको आमहडतालका कारण सीमावर्ती बजार पशुपतिनगर, छब्बिसे, मानेभञ्ज्याङसहितका सीमावर्ती बजार यतिबेला ठप्प छन् । 

भारतीय ग्राहक नआउँदा पसल बन्द छन् । यात्रु आउजाउ शून्य भएकाले सवारीका साधनसमेत छिटफुट मात्रै चल्छन् । तर, भारतको बन्दले उताका पसल ठप्प हुँदा यहाँका खाद्यान्न पसलमा भने भारतीय र स्थानीय उपभोक्ताको भीड बढेको छ । 

दार्जिलिङमा भएको आन्दोलनका कारण पशुपतिनगरमा व्यापार समेत घटेको छ । पशुपतिनगर उद्योग वाणिज्य संघका अनुसार दैनिक रु ४० लाखसम्मको कारोबार हुने पशुपतिनगर बजारमा अहिलेको कारोबार शून्य जस्तै छ । 

खाद्यान्नबाहेक अन्य वस्तुको कारोबार ठप्प रहेको संघका अध्यक्ष प्रमोद राईले बताए  । “भारतमा ७४ दिनदेखि बन्द छ, पशुपतिनगर, मानेभञ्ज्याङलगायतका बजार ठप्प छन्” उनले भने “भारतीय पर्यटकको भरमा सञ्चालित यी बजार सुनसान बनेका छन् ।” रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री