बिहीबार, १३ वैशाख २०८१

कर्णाली नदी नियन्त्रण आयोजनाले लक्ष्य अनुरुप गति लिन सकेन, हालसम्म चालीस प्रतिशत मात्र काम सकियो

समयपोष्ट २०७४ साउन १६ गते ८:३४

कर्णाली नदी नियन्त्रण आयोजना अन्तर्गत हालसम्म १२ किलोमिटर तटबन्ध निर्माण कार्य पूरा भएको छ । सो आयोजनाले ५ वर्षमा ४३ किलोमिटर तटबन्ध निर्माण गरी राजापुर क्षेत्रका स्थानीयवासीलाई नदी कटान र डुबानबाट जोगाउने लक्ष्य लिएको छ ।  

Advertisement

 कर्णाली नदी नियन्त्रण आयोजना राजापुरका प्रमुख तिलकबहादुर खत्रीले  रु २७ करोडको लगानीमा हालसम्म १८ किलोमिटर तटबन्ध निर्माणको टेन्डर भएकामा १२ किलोमिटर तटबन्ध निर्माण कार्य पूरा भएका जानकारी दिए । 

कर्णाली नदी नियन्त्रण आयोजनाका लागि अर्थ मन्त्रालयबाट वार्षिक रु दुई अर्ब रुपैयाँ उपलब्ध गराउने भनिए पनि बर्षेनी रु ३० करोड जति मात्र रकम आउने गरेकाले लक्ष्य अनुरुप आयोजनाले गति लिन नसकेको बताइएको छ । 

आयोजना प्रमुख खत्रीका अनुसार वार्षिक रु ६० करोड जति रकम अर्थ मन्त्रालयबाट निकासा भए अझै प्रभावकारी र सशक्त रुपमा आयोजनाले गति लिनेछ । २०७१ सालदेखि शुरु भएको कर्णाली नदी व्यवस्थापन आयोजनाले तीन वर्षमा ४० प्रतिशत काम पूरा गरेको बताउँदै आयोजना प्रमुख खत्रीले अब बाँकी २ वर्षमा ६० प्रतिशत काम सम्पन्न हुन गाह्रो रहेको उल्लेख गरे । 
कर्णाली नदी नियन्त्रण आयोजनाअन्तर्गत कर्णाली नदीको बाढी आउन सक्ने सम्भावित क्षेत्र गेरुवा गाउँपालिकाको वनघुस्रा, सनकट्टी र गुप्तीपुर तथा राजापुर नगरपालिकाको टिहुनी, नङ्गापुर, अनन्तपुर, सत्ती घाट र तिघ्रामा गरी १२ किलोमिटर तटबन्ध निर्माण कार्य सम्पन्न भएको छ ।

पाँच वर्षीय गुरुयोजनाअनुसार रु ११ अर्ब लागतमा ४३ किलोमिटर स्थायी तटबन्ध निर्माण गरी वैज्ञानिक ढंगबाट गेरुवा र कर्णाली नदीलाई नियन्त्रण गर्ने कर्णाली नदी नियन्त्रण आयोजनाले बर्षेनी हुने भौतिक तथा मानवीय क्षति हटाई नदी कटान र डुबानको चपेटाबाट राजापुर क्षेत्रका बासिन्दामाथि पर्दै आएको प्राकृतिक प्रकोपको क्षति कम गरिरहेको आयोजनाका सिनियर डिभिजन इञ्जिनियर बरुणकुमार कर्णले बताए ।  रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री