भारतीय प्रधानमन्त्री मोदी व्यापार सम्झौताका लागि बेलायतमा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार व्यापार सम्झौताका लागि बेलायत प्रस्थान गर्नुभएको छ । बेलायती प्रधानमन्त्री किर स्टार्मरले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बिहीबार बेलायतमा स्वागत गर्ने तथा यसअघिको घोषणा बमोजिम बेलायत–भारत व्यापार सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
मोदीले बेलायतमा आफ्नो छोटो प्रवासका क्रममा राजा चाल्र्स तृतीयलाई पनि भेट्ने कार्यक्रम तय भएको छ । सन् २०१४ मा भारतको प्रधानमन्त्री बनेपछि मोदीको यो चौथो बेलायत भ्रमण हो ।
स्टार्मर र मोदीले गत महिनाको एयर इन्डियाको विमान दुर्घटनाबारे पनि छलफल गर्ने सम्भावना छ । पश्चिमी भारतको अहमदाबादबाट उडान भरेपछि लन्डन जाने विमान दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको थियो ।
गत मे महिनामा स्टार्मर र मोदीले बेलायतको अर्थतन्त्रमा वार्षिक चार अर्ब ८० करोड पाउन्ड (छ अर्ब ५० करोड डलर) थप गर्ने गरी स्वतन्त्र व्यापार सम्झौता गर्नुभएको थियो ।
“भारतसँगको हाम्रो ऐतिहासिक व्यापार सम्झौता बेलायतका लागि ठूलो जीत हो”, स्टारमरले बुधबार राति एक विज्ञप्तिमा भन्नुभयो ।
स्टारमरको एक वर्ष पुरानो सरकारले वर्षौँको स्थिर वृद्धि र उच्च मुद्रास्फीतिले कमजोर पारेको अर्थतन्त्रलाई उक्साउन सङ्घर्ष गरिरहेको छ ।
भारत र बेलायतले यो सम्झौताले दुई देशबीचको व्यापारलाई २५ अर्ब ५० करोड अर्ब पाउन्डले बढाउने अपेक्षा गरेका छन् ।
बेलायत र भारत क्रमशः छैटौँ र पाँचौँ ठूलो विश्वव्यापी अर्थतन्त्र हुन् । यी दुई मुलुकबीचको व्यापार सम्बन्ध लगभग ४१ अर्ब पाउन्ड छ र लगानीले दुवै देशमा छ लाखभन्दा बढी रोजगारीबाट लाभान्वित हुनेछन् ।
बुधबार भारत छोड्दा मोदीले साझेदारीले ‘पछिल्ला केही वर्षमा महत्त्वपूर्ण गति हासिल गरेको’ बताउनुभयो । “हामीसँग दुवै देशमा समृद्धि, वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले हाम्रो आर्थिक साझेदारीलाई अझ बढाउने अवसर हुनेछ”, उहाँले भन्नुभयो ।
यो सम्झौताले भारतमा ह्विस्की, कस्मेटिक्स र मेडिकल उपकरणहरूसहित बेलायतका सामानहरूको आयातमा कर कटौती गर्नेछ ।
बदलामा बेलायतले भारतबाट फ्रोजन झिँगेमाछासहित कपडा, जुत्ता र खाद्य उत्पादनहरूमा शुल्क कटौती गर्नेछ ।
प्रतिक्रिया