अत्यधिक मदिरा सेवन गरेर दुई जनाको मृत्यु
अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान कनकाई–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत भेटिएका हुन् ।
शिवसताक्षी नगरपालिका–११ घर भई हाल कनकाई–४ मा बस्दै आएका शिवाकोटीले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीयबाट जानकारी पाएको उहाँले बताउनुभयो । निजले कनकाईमा बसेर ज्यालादारीमा घर रङरोगनको काम गर्दै आउनुभएको थियो ।
यसैगरी, विर्तामोड नगरपालिका–६ शुभबिहानी टोलस्थित सुङ्गुर फार्ममा ६५ वर्षीय डम्बरबहादुर मगर मृत भेटिएका छन् । मगरको घर भारतको सिक्किम रहेको प्रहरीले जनाएको छ ।
स्थानीय सरोज लावतीले सञ्चालन गर्दै आएको फार्ममा मगरले सुङ्गुरलाई चारो खुवाउने र खोरको रेखदेख गर्दै आउनुभएको थियो । उहाँको सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
“मृत भेटिनुभएका दुवै जना अत्यधिक मदिरा सेवन गर्दै आउनुभएको अनुसन्धानका क्रममा खुलेको छ”, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले भन्नुभयो, “घटनाको थप अनुसन्धान भइरहेको छ ।”
केहीदिन यता झापामा तापक्रम बढेर उच्च गर्मी भएका भन्दै बेलुका अत्यधिक मदिरा सेवन गरी सुतेका बेला दुवैको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको उहाँले बताउनुभयो । शिवाकोटीको शव सडकको किनारमा खाली खुट्टा भुइँमा पल्टिएको अवस्थामा र मगरको शव खोरको भुइँमा घोप्टो परेको अवस्थामा फेला पारेको थियो ।
प्रतिक्रिया