सामान्य अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। विगत ७ कारोबार दिनदेखि लगातार उकालो लाग्दै आएको नेप्सेले यो क्रमलाई निरन्तरता दिएको हो।
बिहीबार नेप्से परिसूचक ३.७६ अंक बढेर २९८२.६४ विन्दुमा पुगेको छ। नेप्से परिसूचक बढे पनि कारोबार रकम भने केही घटेको छ। बुधबार १९ अर्ब ५७ करोडको शेयर कारोबार भएको बजारमा बिहीबार ३२८ कम्पनीका १ लाख ५४ हजार ६४२ पटकको कारोबारमा १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँबराबरको ३ करोड ८९ लाख ६२ हजार कित्ता शेयर किनबेच भएको छ।
बिहीबार चार कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ग्रीन भेन्चर्स, ट्रेड टावर, सान्भि इनर्जी र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयर सकारात्मक सर्किट लेभलमा पुगेको हो। हिमालयन हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशतले बढेको छ भने माया खोला हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशतले उकालो लागेको छ। यता, मञ्जुश्री फाइनान्स लिमिटेड डिबेञ्चर २०८५ को मूल्य ४.२२ प्रतिशतले घटेर सर्वाधिक ओरालो लाग्नेमा परेको छ।
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ७७ करोड २१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। ङादी ग्रुप पावरको ७२ करोड र ग्रीन भेन्चर्सको ६६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये ६ वटाको परिसूचक बढेको छ भने ७ वटाको घटेको छ। जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतले सबैभन्दा धेरै बढेको छ। विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी उकालो लागेको छ। बैंकिङ, वित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक भने सामान्य घटेको छ।
प्रतिक्रिया