शुक्रबार, ९ साउन २०८२

अब ‘क्यूआर कोड’मा पाचल झरना

समयपोष्ट २०८२ साउन ८ गते १३:५७


कालीकोट जिल्लाको पर्यटकीय गतब्य रहेको पचाल झरनाका बारेमा क्यूआर कोडबाट जानकारी लिन सकिने भएको छ । आर्थिक वर्ष ०८२/८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका १०० वटा प्रमुख गन्तव्यमध्ये कालीकोटको पचालझरनालाई ६४औँ स्थानमा सूचीकृत गरेसँगै क्यूआर कोडबाट नै जानकारी लिन पाइने भएको हो ।

नेपालको सबभन्दा अग्लो कालीकोटको पचालझरना नेपाल सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ । यो सचिकृत भएसँगै पचालझरनाका बारेमा जानकारी दिनका लागि नेपाल पर्यटन बोर्डले क्यूआर कोडमार्फत पर्यटकलाई जानकारी दिने भएको छ ।

पचालझरनाको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहकार्यमा सूचना प्रविधिमैत्री क्यूआर कोड बनाएर पर्यटन बोर्डमा राखिएको र एउटा क्यूआर गाउँपालिकालाई हस्तान्त्रण गरेको पचालझरना गाउँपालिकाका उपाध्यक्ष अल्किना बमले बताउनुभयो । ‘क्यूआर कोडको फ्रेम मैले बुझेर ल्याइसकेको छु,’ उहाँले भन्नुभयो,‘यसले आन्तरिक र बाह्य पर्यटकलाई सूचना लिन सहज हुनेछ ।’

कालीकोटको पचालझरना गाउँपालिका–७ र ४ मा पर्ने पर्यटकीय पचालझरना ३८१ मिटर अग्लो रहेको गाउँपालिकाले दाबी गर्दै आएको छ । त्यसअघि नेपालको सबभन्दा अग्लो भनिँदै आएको तेह्रथुमको ह्यातुङ झरनाको उचाइ ३६५ मिटर मात्र रहेको छ ।

समुद्री सतहबाट ९७० मिटर उचाइमा रहेको एक ठाउँमा थोरै ठोकिएको लम्बाई जोड्दा त पचालझरनाको लम्बाई ४१५ मिटर रहेको गाउँपालिकाका प्राविधिक कुलप्रसाद न्यौपानेले जानकारी दिनुभयो । ‘हामीले पचालझरनाको नापजाँच गर्दा ३८१ मिटर अग्लो रहेको छ,’ उहाँले भन्नुभयो, ‘बीचमा झरना ठोक्किएको भाग जोड्दा ४१५ मिटर अग्लो रहेको छ ।’

पचाल झरनामा पुग्नका लागि कर्णाली करिडोरको लाफागाडबाट तीन घण्टा पैदल र एक घण्टा गाडीमा पुग्न सकिन्छ । झरनाको शिरमा डाँफे कालिजलगायतका चराचुरुङ्गी र घोरल, कस्तुरी, बनेल, हिमाली कालो भालुलगायतका वन्यजन्तु पाइने स्थानीय रामबहादुर ऐडीले बताउनुभयो ।

पर्यटकलाई खान, बस्न खार्दु गाउँका पाँच घरमा होमस्टे पनि सञ्चालन भएका छन् । झरनासम्म पुग्नका लागि रेलिङसहितको गोरेटो बाटो निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले पर्यटन बोर्डको सहयोगमा थप पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्ने पर्यटकको आक्रर्षणको केन्द्र रूपमा राख्नका लागि काम गरिरहेको गाउँपालिका उपाध्यक्ष बमले जानकारी दिनुभयो । ‘विगतदेखि नै पचालझरनाको पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि काम गरिरहेको थियौँ,’ उहाँले भन्नुभयो,‘अब यसको थप विकासका लागि पर्यटन बोर्डसँग मिलेर काम गर्नेछौँ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री