बाढी र पहिरोले यी राजमार्ग पूर्णरुपमा अवरुद्ध
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण नेपालका विभिन्न ६ वटा प्रमुख राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ९ बजे जारी गरेको अद्यावधिक सूचनाअनुसार यी राजमार्गहरूमा सवारी आवागमन पूर्णरुपमा बन्द भएको छ।
प्रहरीका अनुसार कोशी प्रदेशको संखुवासभास्थित कोशी राजमार्ग, पाँचथरको मेची राजमार्ग र तमोर करिडोर सडक खण्डमा बाढी र पहिरोका कारण यातायात पूर्णरुपमा ठप्प भएको छ। त्यस्तै, गण्डकी प्रदेशको नवलपरासी पूर्वमा रहेको कालिगण्डकी करिडोर पनि अवरुद्ध भएको छ।
यसैगरी, लुम्बिनी प्रदेशको रोल्पामा रहेको सहिद राजमार्ग र कर्णाली प्रदेशको रुकुम पश्चिममा रहेको जाजरकोट–डोल्पा भेरी करिडोर सडक खण्डमा पनि बाढी र पहिरोले पूर्णरुपमा अवरोध सिर्जना गरेको छ।
प्रहरीको सूचनाअनुसार यी ६ वटा राजमार्गबाहेक अन्य पाँचवटा सडक खण्ड भने एकतर्फी रुपमा सञ्चालनमा रहेका छन्। निरन्तर वर्षाका कारण सडक खुलाउने प्रयासमा समेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
वर्षातका कारण देशभर बाढी र पहिरोको जोखिम बढेको छ। सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त स्थानमा यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ। बाढी र पहिरोका कारण जनधनको क्षति हुन नदिन स्थानीय प्रशासन र उद्धार टोलीहरू तयारी अवस्थामा रहेको पनि प्रहरीले उल्लेख गरेको छ।
प्रतिक्रिया