शनिबार, २२ वैशाख २०८१

जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा खण्ड सञ्चालनमा

समयपोष्ट २०८० असार ३१ गते १९:१४

Advertisement

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बिजलपुरामा आयोजित एक समारोहबीच जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्डको शुभारम्भ गरेका छन् ।

उक्त समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव, मधेस प्रदेशका राजनीतिक नेता, नेपाल सरकारका प्रतिनिधि लगायत अन्यको उपस्थिति थियो ।

नेपालका प्रधानमन्त्रीको गत महिना सम्पन्न भारत भ्रमणका क्रममा नेपाल सरकारलाई यो खण्ड हस्तान्तरण गरिएको थियो । कूल १७.३ किलोमिटर लम्बाई रहेको यस कुर्था–बिजलपुरा खण्डमा कुर्था, पिपराडी, लोहारपट्टी, सिंग्याही र बिजलपुरा गरी ५ वटा स्टेसनहरु रहेका छन् ।

Advertisement

कूल भारु ७८३.८३ करोड लागतमा भारत सरकारको अनुदान सहयोग अन्तर्गत निर्माण गरिएको यो खण्ड जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग परियोजनाको दोस्रो चरण रहेको छ । जयनगरदेखि कुर्थासम्मको पहिलो चरणको गत वर्ष अप्रिलमा उद्घाटन भई त्यसयता सञ्चालनमा रहेको छ । बिजलपुरादेखि बर्दिवास जोड्ने तेस्रो चरणका लागि हाल जग्गा अधिग्रहणको काम भइरहेको छ ।

समारोहमा मन्त्री ज्वालाले रेल क्षेत्र सहित नेपालका पूर्वाधारको विकासमा भारत सरकारको निरन्तर सहयोगका लागि आभार व्यक्त गरे । उनले यस रेल कनेक्टिभिटीले दुई देशका जनताबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै यसले नेपालको व्यापार र पर्यटन प्रवर्धन गर्न मद्दत गर्ने बताए ।

सोही समारोहमा नियोग उप–प्रमुख श्रीवास्तवले दुवै देशका जनताको फाइदाका लागि दुई देशबीच कायम विकास साझेदारीलाई थप बलियो बनाउन भारत सरकार सदैव प्रतिबद्घ रहेको बताए ।

यस परियोजनाको कार्यान्वयनले नेपालका नयाँ क्षेत्रमा भरपर्दो, किफायती र द्रुत यातायातको व्यवस्था हुनेछ । यो परियोजना हाल भारतद्वारा नेपालमा कार्यान्वयन भइरहेका कैयौं कनेक्टिभिटी परियोजनाहरुकैै एक भाग हो । यसले भारत र नेपालबीचको भौतिक सम्पर्कलाई थप अभिवृद्धि गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री