शनिबार, ८ वैशाख २०८१

तस्विरमा हेर्नुहोस् निमार्णाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

समयपोष्ट २०७७ साउन १३ गते २०:००

Advertisement

निमार्णाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६२ प्रतिशत काम सम्पन्न भएको छ ।

चिनियाँ कम्पनी सिएएमसी इञ्जीनियरिङले विसं २०७४ असारदेखि विमानस्थलको काम शुरु गरेकामा हालसम्म आयोजनाको ६२ प्रतिशत काम सकिएको हो । रु २२ अर्ब लागतमा विमानस्थल निर्माणका लागि सन् २०१४ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र सिएएमसीबीच ठेक्का सम्झौता भएको थियो । विमानस्थलका लागि चीनको एक्जिम बैंकले सहुलियत ऋण उपलब्ध गराएको छ ।

आयोजनाको ‘ल्याण्डसाइड’तर्फ दुई हजार ५०० मिटर लामो रनवे, ट्याक्सी वे, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग (एस्सेस रोड), सिँचाइ नाला, पानी बाहिर पठाउने (आउटलेटिङ) तथा कल्भर्डको काम सकिएको छ । त्यसैगरी एयरसाइड र भवनतर्फ आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावरलगायतका विभिन्न १४ भवन, ह्याङ्गरलगायतको सिभिल संरचना र कङ्क्रिट संरचनाको काम सकिएर डेकोरेशन र फनिसिङको चरणमा रहेको आयोजनाले जनाएको छ ।

भवनमा उपकरण जडान गर्ने काम तत्कालै शुरु गरिने र विदेशी कामदार आएलगत्तै आयोजनाले थप गति लिने बताइन्छ । जडान कार्य चाँडो हुने भएकाले समेत आयोजनाको भौतिक प्रगति बढ्नेछ । ग्लाइडपाथ, इलेक्ट्रोमिटर, बोडिङ ब्रिजलगायतका उपकरण तथा डेकोरेशनका सामग्री चीनबाट आउन बाँकी छ । ती सामग्री दुई महिनापछि मात्र आयोजनास्थलमा आइपुग्नेछन् ।

इपिसि (इञ्जीनियरिङ प्रोक्योरमेन्ट र कन्स्ट्रक्शन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्जनाइजेशन (आइकायो) को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल निर्माण भइरहेको हो । यहाँ बोइङ ७५७ र एयरबस–२१९ मोडलका ‘न्यारोबडी’ विमानको उडान तथा अवतरण हुनेछ । विमानस्थलका लागि साविक छिनेडाँडा हाल पोखरा महानगरपालिका–१४ मा विसं २०३२ मा पहिलोपटक तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो ।

त्यसपछि विभिन्न चरणमा ५२६, ६० र पछिल्लोपटक ९० रोपनी अधिग्रहण गरिएको छ । विमानस्थलले तीन हजार ८०० रोपनी क्षत्रेफल आगेटेको छ । पछिल्लोपटक गत चैत १० गते अवतरणका लागि विमानलाई नियन्त्रण गर्ने उपकरण ‘ग्लाइड पाथ’का लागि आवश्यक १०४ रोपनीमध्ये सरकारी १४ रोपनीबाहेक स्थानीयवासीको ९० रोपनी जमिन अधिग्रहणका लागि सूचना निकालिएकामा ६० जनाले मुआब्जाका लागि निवेदन दिएको आयोजनाले जनाएको छ । जमिन अधिग्रहणको चार दशकभन्दा बढी समयपछि विमानस्थल निर्माण प्रक्रिया शुरु भएको हो ।


तस्विर: पर्यटनमन्त्री योगेश भट्टराईको फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री