अपिहिमाल सडक सञ्जालमा जोडिँदै: पालिका केन्द्रसम्म सडक पुर्‍याउन निर्माण तीव्र

दार्चुलाको खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिन थालेको छ। पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो। सडक सञ्जालबाट अझै नजोडिएका पालिकालाई जोड्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यस योजनालाई प्राथमिकतामा राखेको छ।

हालसम्म सडक सञ्जालसँग नजोडिएका अपिहिमाल, साइपाल र स्वामीकार्तिक खापर गाउँपालिकालाई प्रादेशिक तथा स्थानीय सडक सञ्जालसँग जोड्ने लक्ष्य प्रदेश सरकारले लिएको छ। यो सडक जोड्न सङ्घीय सरकारले विशेष प्राथमितामा राखेको छ भने अपिहिमाल गाउँपालिकाले पनि सडक निर्माणलाई निरन्तरता दिँदै अघि बढाएको छ।

ढुवानी र दैनिक उपभोगमा सहजताको आशा

Advertisement

सडक अभावका कारण स्थानीयले वर्षौंदेखि यातायात, विकास निर्माण र दैनिक उपभोगका सामग्री ढुवानीमा ठूलो कठिनाइ भोग्दै आएका थिए। अपिहिमाल-५ मकरीगाडबाट खण्डेश्वरी घुसासम्म पुग्न मात्रै प्रतिकिलो १० रुपैयाँ ढुवानी भाडा लाग्ने गरेको स्थानीय खडक रोकायाले बताए। मकरीगाडसम्म मात्रै रहेको सडक अहिले भट्टार गाउँसम्म विस्तार भएपछि स्थानीयमा खुसीयाली छाएको छ।

गाउँपालिकाको केन्द्र वडा नं ४ को नौपाटामा पर्छ र अब सडकले वडा नं ३ र ४ लाई जोड्ने स्थानीय दीपक टमटाले जानकारी दिए। यो खण्डमा सडक खन्न कडा चट्टानी भू-भाग नभएकाले कामले तीव्रता पाउने विश्वास गरिएको छ। अपिहिमाल-१ र २ मा तत्कालै सडक पुग्ने सम्भावना नभए पनि वडा नम्बर ३ को काफलधारसम्म सडक पुग्दा ती वडालाई समेत ठूलो राहत मिल्नेछ।

आगामी वर्ष पालिका केन्द्रमा गाडी पुग्ने

सडक निर्माणको जिम्मा पाएको विएनबी कन्स्ट्रक्सन सुर्खेतका प्रतिनिधि धर्मसिंह धामीले आगामी आर्थिक वर्षभित्र पालिका केन्द्रसम्म सडक पुर्‍याउने लक्ष्यसहित काम भइरहेको बताए। सडक नहुँदा विकास निर्माणका सामग्री ढुवानी महँगो परेर विभिन्न आयोजना कार्यान्वयनमा समस्या हुँदै आएकामा अब सहजता आउने अपेक्षा गरिएको छ।

अपिहिमाल गाउँपलिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार चालु आर्थिक वर्षभित्रै सडक काफलधारसम्म जोडिने छ। मकरीगाडबाट भट्टारसम्मको कडा चट्टानी भाग कटान गरिसकिएकाले अब सहज ठाउँमा सडक निर्माण अघि बढेको उनले स्पष्ट पारे।

Advertisement

अध्यक्ष बोहराका अनुसार पारिवगर-मकरीगाड सडक स्तरोन्नति र मकरीगाडमा मोटेरबल पुल निर्माणका लागि ठेक्का लागिसकेको छ। आगामी दुई वर्षभित्र कालोपत्रसहित स्तरोन्नतिको काम सकिने छ। अपिहिमाल-४ र ३ जोड्ने सडकका लागि ७ करोड रुपैयाँ बजेट सुनिश्चित भइसकेकाले आगामी आर्थिक वर्ष अपिहिमालको विकासका लागि महत्वपूर्ण वर्ष सावित हुने उनले दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री