काठमाडौँ महानगरको बजेटमा ढिलाइ: मेयर बालेनको बेवास्ताप्रति समितिको आपत्ति
काठमाडौँ महानगरपालिकाले तोकिएको मितिमा बजेट ल्याउन नसकेपछि बजेट तर्जुमा तथा कार्यक्रम समितिले मेयर बालेन्द्र शाह (बालेन)प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। कार्यपालिका र नगरसभा सदस्यहरूले पटक-पटक अनौपचारिक बैठक राखेर दबाब दिँदा पनि मेयर शाहले बजेट प्रक्रियामा ध्यान नदिएको समितिको आरोप छ।
मंगलबार राति बसेको बजेट तर्जुमा समितिको अनौपचारिक बैठकले मेयर शाहलाई बजेट तर्जुमा प्रक्रियामा गम्भीर बन्न र बेवास्ता नगर्न औपचारिक रूपमा ध्यानाकर्षण गराउने निर्णय गरेको थियो। समितिले बुधबार मेयर शाहलाई औपचारिक पत्रमार्फत यो विषयमा सचेत गराएको छ।
समितिका सदस्य तथा प्रवक्ता नवीन मानन्धरले भने, “बजेट तर्जुमा प्रक्रियामा मेयरज्यूबाटै सबैभन्दा बढी पहल हुनुपर्ने हो, तर उहाँबाट त्यो भएको छैन। यदि मेयरज्यूले समन्वय गर्नुभएको भए, हिजै बजेट ल्याउन सकिन्थ्यो।”
बजेट तर्जुमा समितिको बैठकमा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक नबोलाएर मेयर शाहले प्रक्रियालाई ढिलाइ गरेको विषयमा समीक्षा भएको थियो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान असार १० गतेभित्र नगरसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, मेयर शाहको संयोजकत्वमा गठित स्रोत अनुमान समितिले वैशाख १० गतेभित्र आफ्नो कार्य सम्पन्न गर्नुपर्ने दफा ६६ (६) को समयसीमा पनि पूरा गर्न नसकेको समितिको ठहर छ।
बजेट सीमा निर्धारण नहुँदा आर्थिक वर्ष २०८२/०८३ को बजेट अभावले विकास निर्माण, कर्मचारीको तलब, ज्येष्ठ नागरिक भत्ता, र फोहोरमैला व्यवस्थापनजस्ता महानगरका नियमित कार्यमा साउन १ गतेदेखि प्रत्यक्ष असर पर्ने समितिका सदस्यहरूले चेतावनी दिएका छन्।
प्रतिक्रिया