कम्बोडियामा पक्राउ परेका मितेरी सहकारी अपचलनका मुख्य आरोपि काठमाडौं ल्याइए
ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको करिब १४ करोड रुपैयाँ अपचलन गरेको आरोप लागेका ज्योतिबहादुर भण्डारी कम्बोडियाबाट पक्राउ परेका छन्। इन्टरपोलको सहयोगमा उनलाई पक्राउ गरी सिंगापुर एयरलाइन्समार्फत बुधबार राति काठमाडौं ल्याइएको प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ।
भण्डारीमाथि मितेरी सहकारीकी महाप्रबन्धक ज्योति गुरुङसँग मिलेर सहकारीको रकम पटक–पटक मिटरब्याजमा सापटी लिएको र अन्ततः सम्पर्कविहीन बनेको आरोप छ। अनुसन्धानअनुसार भण्डारीले सुरुमा ३० लाख सापटी लिएर ५ लाख थपेर फिर्ता गरे पनि पछि रकम क्रमशः बढाउँदै गएर करिब साढे ३ करोड रुपैयाँसम्म लिएपछि फरार भएका थिए।
सहकारीकी तत्कालीन महाप्रबन्धक ज्योति गुरुङ नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङकी पूर्वपत्नी हुन्। उनी पनि अपचलन प्रकरण सार्वजनिक भएपछि फरार छन्। दुवैको खोजीका लागि प्रहरीको अनुरोधमा इन्टरपोलले गत असोजमा रेड नोटिस जारी गरेको थियो।
भण्डारी थाइल्यान्ड हुँदै कम्बोडिया पुगेको सुरुवाती अनुमान गरिए पनि उनलाई कम्बोडियामै पक्राउ गरिएको हो। सीआईबीका अनुसार महाप्रबन्धक गुरुङ अझै फरार छिन्।
सहकारी अपचलन प्रकरणमा सुरुमा सीआईबीले अनुसन्धानको अधिकार नपुगेको भन्दै स्थानीय तह वा संसदीय प्रतिवेदनको आधार चाहिने बताएको थियो। तर, सर्वसाधारणको बचत अपचलनबारे चर्को आलोचना भएपछि सीआईबीले ललितपुर महानगरपालिका र बागमती प्रदेश सरकारको सहकार्यमा अनुसन्धान अघि बढाएको थियो।
पूर्वमन्त्री धनराज गुरुङले आफ्नी पूर्वपत्नीको अपचलनमा आफू संलग्न नरहेको दाबी गर्दै आएका छन्। उनले सहकारीबाट लिएको ऋण पनि चुक्ता गरिसकेका छन्। तर, संसदीय छानबिन समितिले मितेरी सहकारीको रकम अपचलनमा उच्च तहको सम्बन्धबारे पनि अनुसन्धान हुनुपर्ने सुझाएको थियो।
मितेरी सहकारी बेलायती र भारतीय सेनाबाट अवकाशप्राप्त नेपालीहरूको पहलमा स्थापना भएको संस्था हो।
प्रतिक्रिया