आइतबार, २२ असार २०८२

५१ जलविद्युत् कम्पनीलाई प्राधिकरणको पत्राचार: पीपीए प्रक्रिया अगाडि बढाउन आग्रह

समयपोष्ट २०८२ जेठ २६ गते १०:२१


नेपाल विद्युत् प्राधिकरणले ५१ वटा जलविद्युत् कम्पनीलाई विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) प्रक्रिया अगाडि बढाउन चार दिनभित्र सम्पर्कमा आउन औपचारिक आग्रह गरेको छ। प्राधिकरणले जेठ २५ गते ती कम्पनीहरूलाई पत्र पठाउँदै आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको हो।

Advertisement

प्राधिकरणका अनुसार, पीपीए सम्झौताको प्रक्रिया अघि बढाउन कम्पनीहरूले आफ्ना आयोजना राष्ट्रिय निकुञ्ज वा संरक्षित क्षेत्रभित्र पर्छ वा पर्दैन भन्ने स्पष्ट विवरण र अहिलेसम्मको भौतिक तथा आर्थिक प्रगतिको प्रतिवेदन बुझाउनुपर्नेछ। यी विवरणका आधारमा सम्झौता प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ।

९९४औं सञ्चालक समितिको निर्णयअनुसार, ती ५१ कम्पनीहरूसँग पीपीए गर्न स्वीकृति दिइएको हो। तीमध्ये अधिकांश साना जलविद्युत् आयोजना निर्माणमा संलग्न छन्, जसले उत्पादन भएको विद्युत् राष्ट्रिय ग्रिडमा आपूर्ति गर्ने लक्ष्य राखेका छन्।

प्राधिकरण स्रोतका अनुसार, पछिल्लो समय जलविद्युत् आयोजना स्वीकृतिको प्रक्रिया ढिलो हुँदै आएको, साथै वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका मापदण्ड पालना नगरेको भन्ने गुनासाहरू बढिरहेका छन्। यही कारण, यसपटक स्पष्ट र दस्तावेजसहित सम्पर्क गर्न अनुरोध गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री