शुक्रबार, ७ वैशाख २०८१

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

समयपोष्ट २०७५ असार ११ गते ५:३३

सुनसरी कोशी गाउँपालिका–७ हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन् ।

Advertisement

साथीसाथीबीच भनाभनको विषयलाई लिएर आइतबार मध्याह्न सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–४ स्थित रहेको प्रिसियस एकेडेमीका प्रधानाध्यापक ओमप्रकाश यादवसहितका शिक्षकले रबरको पाइपले आफ्नै विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी पाठकलाई निर्घात कुटपिट गरेको पीडित पाठकले बताएका छन् ।

पीडित पाठकले आफूलाई कोठामा थुनेर प्रधानाध्यापक सर ओमप्रकाश यादव, चालक कमल दास, चन्दन यादव र नन्दकिशोर यादवसहितले लाँठी र रबरको पाइपले कुटपिट गरेको बताए ।

कुटपिटबाट पाठकको कानबाट रगत निस्केको छ भने शरीरभरि नै निलडाम रहेको पीडितका ठूलो बुबा श्यामानन्द पाठकले बताउनुभयो । घाइते पाठकको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

उनले आफूलाई अपांग बनाई दिने, पढ्ने सपना चकनाचुर पारिदिने भन्दै पालोपालो गरी प्रधानाध्यापक ओमप्रकाश र शिक्षकले निर्घात कुटपिट गरेको आरोप लगाए ।

पीडित पाठकले कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
उता प्रधानाध्यापक यादवले कुटपिट गरेको स्वीकार गर्नुहँुदै अपांग बनाउने गरी नकुटेको दाबी गर्नुभयो । यादवले आबेगमा आएर कुटपिट गरेको भनी स्वीकार गर्नुभयो । यो घटना मिलाउने प्रयासमा समेत रहेको यादवले सुनाउनुभयो । यादवले सञ्चारकर्मीलाई समाचार लुकाई दिनसमेत आग्रह गर्नुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री