बिहीबार, १३ वैशाख २०८१

मोटरपुल सञ्चालनमा आएपछि स्थानीय खुशी

समयपोष्ट २०७५ असार १० गते ६:४४

अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन जोडने कैलाश नदीको सेरी मोटरपुल औपचारिकरुपमा सञ्चालनमा आएको छ ।

Advertisement

तत्कालीन जिल्ला विकास समितिमार्फत निर्माण सम्पन्न भएको तर सञ्चालनमा आउन नसकेको पुलको अधुरो काम स्थानीय तहले सम्पन्न गरेसँगै सञ्चालनमा आएको हो ।

पुल सञ्चालनमा आएपछि स्थानीयवासीले हर्षबढाइसँगै खुशियाली मनाएका छन् भने पुलको औपचारिक उद्घाटन पनि गरिएको छ । ४५ मिटर लामो पुल निर्माण सकिएको तीन वर्षपछि पुलको वारीपारी छेउमा रहेको सडक तथा पुलको पखेटा निर्माण भएपछि पुल सञ्चालनमा आएको र स्थानीय नागरिकलाई खुशीको अनुभूति भएको स्थानीय चन्द्र भण्डारीले बताउनुभयो ।

यसअघि पुल हेर्नलाई पनि सिढी चढ्नुपर्ने अवस्था रहेको थियो । पुल सञ्चालनमा ल्याउनका लागि रामारोशन गाउँपालिकाले रु १० लाख, मंगलसेन नगरपालिकाले रु १० लाख र बान्नीगढी जयगढ गाउँपालिकाले रु पाँच लाख तथा जिल्ला समन्वय समितिले रु २० लाख गरी रु ४५ लाख लगानी गरेको रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद भास्करले बताउनुभयो ।

यसअघि तत्कालीन जिल्ला विकास समितिमार्फत पुल निर्माणका लागि रु दुई करोड ८९ लाख खर्च भएको थियो । पुल सञ्चालनमा आएसंगै रामारोशन क्षेत्रका २० औँ हजार नागरिक र मंगलसेन तथा बान्नीगढीका स्थानीय तथा रामारोशन घुम्न आउने पर्यटकलाई समेत निकै सहज भएको छ ।

पुल नहुदा वर्षायाममा ज्यान जोखिममा राखेर नदी तर्नुपर्ने अवस्था अन्त्य भएको र उपभोग्य सामानको ढुवानीमा पनि निकै सहज हुने स्थानीय दिनेशप्रसाद रेग्मीले बताउनुभयो ।
अब पर्यटकीय क्षेत्र रामारोशन जाने सडकको स्तरोन्नतिका लागि जोड दिइने बताइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री