बिहीबार, १३ वैशाख २०८१

दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू

समयपोष्ट २०७५ असार ७ गते ७:१३

अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको मनोहरा पुलदेखि साँगासम्म व्यापकरुपमा दुर्घटना बढेपछि दुर्घटना न्यूनीकरण अभियान शुरु भएको छ ।

Advertisement

महानगरीय प्रहरी परिसर भक्तपुरले दुर्घटना न्यूनीकरण अभियान शुरु गर्दै सार्वजनिक एवं मालबाहक सवारीसाधनका हकमा मंगलबारदेखि टाइम कार्ड लागू गरेको छ ।

प्रहरीले मनोहरा पुलदेखि साँगासम्म सात स्थानमा प्रहरीको समूह नै परिचालन गरी सवारीसाधनको गति नाप्ने, पैदलयात्रुलाई जेब्रा क्रसिङबाट मात्रै बाटो काट्न सिकाउने, सार्वजनिक सवारी साधनलाई बस स्टपमा मात्रै रोक्न लगाउने, सडक लेनको अनिवार्य पालना गर्न लगाउनेजस्ता कार्य गर्दै अभियान सञ्चालन गरिएको हो ।

प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले छ लेन सडक र साँगासम्मको सडक दुर्घटनाको दृष्टिकोणले ज्यादै जोखिमपूर्ण भएकाले यो सडकमा दुर्घटना न्यूनीकरणका लागि १० दिने अभियान शुरु गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– “अभियानकै लागि सात ठाउँमा प्रहरी परिचालन गरेर अभियान शुरु गरेका छौँ, अभियानमा खटिएका प्रहरीले पर्चा बाँड्ने, सवारी चालकदेखि पैदलयात्रुसम्मलाई परामर्श दिने, बस स्टपमा नरोक्ने, जथाभावी सवारी हाक्ने, तीव्रगतिमा सवारी चलाउने, लेन पालना नगर्ने सवारीसाधनलाई तत्कालै कारबाहीस्वरुप जरिवाना लगाउने कार्य भएको छ ।”

अभियान सञ्चालन गर्नु अघि यातायात व्यवसायीसँग दुर्घटना न्यूनीकरणकाबारेमा छलफल भएको र व्यवसायीलाई जानकारी दिएरै अभियान सञ्चालनसँगै कारबाही अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।

दुर्घटना बढेपछि प्रहरीले साँगादेखि भक्तपुर आउँदा र जाँदा टाइम कार्ड लागू गरेको छ । टिपरको ठक्करबाट एकैपटक तीन जनाको ज्यान गएपछि प्रहरीले सोही दिनदेखि टाइम कार्ड लागू गरेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– “साँगाबाट भक्तपुरतर्फ आउँदा र जाँदा सार्वजनिक तथा मालबाहक सवारीसाधनलाई टाइम कार्ड लगाएका छौँ, निर्धारित टाइमभन्दा बढी गतिमा हाँके सवारी चालकलाई कारबाही गर्छौं, यसले पनि तीव्रगतिका कारण हुने दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउँछ ।”

प्रहरीले सडक दुर्घटनाको अर्को कारणका रुपमा देखिएको छाडा गाईबस्तु हटाउन सम्बन्धित नगरपालिकालाई अनुरोध गरेको बताउँदै नगरपालिकाले त्यसतर्फ चासो नदिएकाले प्रहरी आफैँले हटाउने तयारी गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री