शनिबार, १५ वैशाख २०८१

अर्जेन्टिनाका समर्थकलार्इ नराम्रो धक्का,पनामा पेपर्समा पुन परे मेस्सी

समयपोष्ट २०७५ असार ७ गते ६:२३

खोज-पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे)ले अवैध धन लुकाउनेहरुको विवरण समेटिएको पनामा पेपर्स-२ सार्वजनिक गरेको छ ।

Advertisement

बुधबार राति सार्वजनिक गरिएको पनामा पेपर्स-२ मा अर्जेन्टिनी चर्चित फुटबल खेलाडी लिओनल मेस्सीको नाम पनि समाबेस भएको छ । ‘पनामा पेपर्स-२’ का अनुसार मेस्सी र उनका पिताले ‘मेघा स्टार इन्टरप्राइजेज’ नामक अफशोर कम्पनीमार्फत कारोबार गरेर कर छलेको भेटिएको छ ।

मोसेक फोन्सेका नामको बिचौलिया ल फर्मबाट आईसीआईजेले पाएको विवरणअनुसार मेस्सीसंगै अर्जेन्टिनाका राष्ट्रपति मउरिसियो मार्सी र कुवेतका उच्चपदस्थ अधिकारीलगायत अवैध सम्पत्ति सञ्चय र करछली प्रकरणमा जोडिएका छन् ।

मेस्सीको नाम पहिलो पनामा पेपर्समा पनि थियो । तर, उनले यो कम्पनी ‘पूरै निष्कृय’ रहेको दाबी गरेका थिए । तर, कम्पनी सक्रिय राखेर करछली गरेको भेटिएको छ ।

मेस्सी र उनका बुवामाथि स्पेनमा कर छलीको मुद्दा लागेको थियो । मेस्सीले स्पेनिस अदालतले २१ महिना जेल सजाय र २२ लाख अमेरिकी डलर जरिवाना तोकेको थियो । तर, पहिलो पटक २ वर्षभन्दा कम सजाय पाउँदा जेल बस्नु नपर्ने स्पेनिस कानुन अनुसार मेस्सी जेल बस्नु परेको थिएन ।

दूई वर्षअघिको पनामा पेपर्समा २० नेपालीको नाम समेत सार्वजनिक भएको थियो । यसबारे नेपाल सरकारले अहिलेसम्म कुनै छानविन तथा कारबाही अघि बढाएको छैन ।

यस्तै, पनामा पेपर्स–२ ले अर्जेन्टिनाका राष्ट्रपति मउरिसियो म्यार्की आफ्नो स्वामित्वमा रहेको बाहमासस्थित ‘फ्लेग ट्रेडिङ कम्पनी’ स्थापना भएको मिति परिवर्तन गरेर चोखिन खोजेको पनामास्थित मोसेक फोन्सेकाको केन्द्रीय कार्यालय र उरुग्वेस्थित शाखाबीच सन् २०१६ सेप्टेम्बर र अक्टोबरमा भएको इमेल कुराकानीले पुष्टि गरेको आइसीआइजेले जनाएको छ ।

बाहमासमा रहेको ‘फ्लेग ट्रेडिङ्ग कम्पनी’ र पनामाको मोसेक फोन्सेकाबीच सम्बन्ध भएको तथ्य लुकाउन पहिल्यैको मिति राखेर कागजात बनाउने मोसेक फोन्सेका कम्पनीका कर्मचारीले प्रयास गरेका थिए । पनामा पेपर्स–२ ले मलेसिया, कुवेत र रूसका राजनीतिज्ञको नामसमेत सार्वजनिक गरेको छ । विवरणअनुसार मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकका भाइ मोहम्मद निजाम विन अब्दुल रजाकले ब्रिटिस भर्जिन आइल्यान्डस्मा कम्पनी दर्ता गरेका थिए ।

इभर ब्राइट यूनिभर्सल होल्डिङस् लिमिटेड कम्पनीको नाममा अमेरिकामा समेत उनको सम्पत्ति छ । २०१७ मेमा भएको संसदीय निर्वाचनबाट सत्ताच्यूत भएका रजाकले आफ्नो कार्यकालमा राज्यको लगानी कोषबाट अर्बौ डलर (खरब रुपैया) हिनामिना गरेका थिए ।

रूसका धनाढ्य तथा राजनीतिकर्मी विटाली मल्किनले पनि स्रोत नखुलेको अर्बौं डलर विदेशमा लगानी गरेको भेटिएको छ । काजकस्थानका राष्ट्रपति नरसुल्तान नजरबयभकी छोरी डरिगा नजरबयभ पनि ब्रिटिस भर्जिन आइल्यान्डसस्थत कम्पनीमा लगानीकर्ता देखिएकी छन् ।

पनामा पेपर्सले विश्वका चर्चित व्यक्तिहरुले अवैध सम्पत्ति लुकाउन र कर छल्न कसरी सुरक्षित स्थान (ट्याक्स हेभन) रोजेका छन् भन्ने खुलाउँदै आएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री