शुक्रबार, ४ जेठ २०८१

ढिलासुस्ती गर्ने ठेकेदारलाई बन्दाबन्दी बन्यो बहाना, झन् पछि धकेलिदै बृहत् पम्पिङ खानेपानी आयोजनाको काम

समयपोष्ट २०७७ जेठ २६ गते १०:४८

Advertisement

विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीले खोटाङको हलेसीमा सञ्चालित बृहत् पम्पिङ खानेपानी आयोजनाको काम प्रभावित भएको छ । दूधकोशीको पानी लिफ्टिङ प्रविधिबाट गाउँमा निकालेर घरघरमा वितरण गर्ने गरी तीन वर्षअघिदेखि शुरु गरिएको रु ९६ करोडको बृहत् पम्पिङ खानेपानी आयोजनाको काम प्रभावित भएको हो ।

दूधकोशीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र सोही नगरपालिकाको वडा नम्बर–७ महादेवस्थानस्थित काभ्रेडाँडामा निकालेर वितरण गर्ने गरी खानेपानी आयोजनाको काम थालिएको थियो । दूधकोशीबाट पानी लिफ्ट गरेर हलेसी तुवाचुङ नगरपालिकाका १ देखि ७ वडाका कम्तीमा तीन हजार ७५६ घरधुरीलाई वितरण गर्ने उद्देश्यले खानेपानी आयोजनाको काम शुरु गरिएको हो ।

त्रिधार्मिकस्थल हलेसीमा सञ्चालित खानेपानी आयोजनामा हाल पाइपलाइन विस्तार, ट्याङ्कीको फाउण्डेसन निर्माण, ट्याङ्कीसम्म पुग्ने सडक निर्माण तथा मर्मतलगायत बाहेक अन्य काम भएको छैन । ठेकेदार कम्पनीको ढिलासुस्तीका साथै कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी थपिँदा आयोजनाको काम महिनौँ पछाडि धकेलिने भएपछि उपभोक्ता निराश बनेका छन् ।

बन्दाबन्दीका कारण बारा र पर्साबाट सिमेन्ट, डण्डीलगायतका निर्माण सामग्री ल्याउन समस्या भएकाले खानेपानी आयोजनाको काम प्रभावित भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख हीराकाजी महर्जनले बताउनुभयो । “बन्दाबन्दीका कारण घर गएका दक्ष जनशक्ति पनि ल्याउन सकिएको छैन”, उहाँले भन्नुभयो, “जुन रफ्तारमा काम गर्न खोजेका थियौँ, त्यो गतिमा काम गर्न सकिएको छैन ।”

Advertisement

आयोजनाको काममा ढिलासुस्ती गरिरहेका ठेकेदारले ढिलासुस्तीको कारण बन्दाबन्दीलाई देखाउने निहँु पाएको नगरप्रमुखर इवन राईले बताउनुभयो । “खानेपानी आयोजनाको मुख्य संरचनाको काम नै रोकिएको छ”, उहाँले भन्नुभयो, “बन्दाबन्दीअगाडि आयोजनाको काममा जुन गति थियो, अहिले त्यो अवस्था पनि छैन । ढिलासुस्ती गर्ने ठेकेदारले बन्दाबन्दीको निहुँ पाएको छ ।” डिकुवाको भुम्जुडाँडा र महादेवस्थानको काभ्रेडाँडामा पम्पिङ गरेर पानी निकाल्नेगरी मुख्य लाइन निर्माणको जिम्मा दिवा–महादेव खिम्ती जेभीले लिएको छ । विसं २०७६ पुस १७ गतेसम्ममा काम पूरा गर्ने गरी सो निर्माण कम्पनीले २०७४ साल असार २१ गते कामको सम्झौता गरेको थियो ।

यस्तै भुम्जुडाँडा र काभ्रेडाँडामा निकालिएको पानीलाई ट्याङ्कीमा जम्मा गरेर गाउँगाउँमा पु¥याउने वितरण लाइनतर्फको जिम्मा लामा कन्स्ट्रक्सन प्रालि र रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीले लिएको छ । काभ्रेडाँडामा निकालिएको पानीलाई विसं २०७७ असार ३० गतेसम्ममा वितरण गरिसक्ने गरी २०७५ साल असार ३१ गते सम्झौता गरेको निर्माण उपभोक्ता समितिका सचिव हस्तबहादुर राईले बताउनुभयो ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीमा सञ्चालित खानेपानी आयोजनाको काममा भएको समस्याका बारेमा विभागलाई समेत पत्राचार गरेर जानकारी दिइएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय दिक्तेलले जनाएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका ११ वटै वडाका स्थानीय बासिन्दाले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका छन् ।

वर्षात्को समयमा घरको छानामा पाइप जडान गरेर जम्मा भएको पानी उपभोग गर्ने हलेसी क्षेत्रका स्थानीय बासिन्दा हिउँदको समयमा घण्टौँ लगाएर दूधकोशीबाट बोकेर ल्याएको पानी उपभोग गर्छन् । कतिपय स्थानीय बासिन्दाले ट्याङ्करमा ड्रममा भरेर दूधकोशीकै पानी ल्याएर उपभोग गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री