शुक्रबार, ४ जेठ २०८१

खानेपानीको आपूर्तिमा कमी

समयपोष्ट २०७६ जेठ १६ गते १२:४०


लामो खडेरीले मुहानहरु सुक्दै गएपछि सुर्खेत उपत्यकामा खानेपानी आपूर्तिमा ५० प्रतिशतले कमी आएको छ ।

Advertisement

बढ्दो जनघनत्व र पानीको स्रोतमा कमीका कारण सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले फ्लोसेडिङ तालीकामार्फत आपूर्ति व्यवस्थापन गर्दै आएको छ । मुहानबाट पानीको आपूर्ति घटेपछि संस्थाले एक महीनायता समानुपातिक वितरणका लागि ‘फ्लोसेडिङ’ तालीका लागू गरेको हो । हाल सुर्खेत उपत्यकामा ९६ घण्टा ‘फ्लोसेडिङ’ हुने गरेको छ ।

संस्थाका अध्यक्ष कुलमणि देवकोटाले उपत्यकामा आउने पानीको मुख्यस्रोत झुप्राखोलाको मुहान सोलीघोप्टेमा पानी आधा घटेको जानकारी दिए । “मुहानबाटै पानी आपूर्ति कम भएपछि वितरणमा समस्या भएको हो”, उनले भने, “अघिल्ला वर्षभन्दा यसपाला मुहानबाटै कम पानी आपूर्ति भइरहेको छ, ५० प्रतिशत पानी घटेको छ ।”

उपभोक्ता संस्थालाई मागअनुसार आपूर्ति गर्न हम्मेहम्मे परेको छ । गत वर्ष झुप्राखोला मुहानबाट वर्षायाममा प्रतिसेकेण्ड ८६ लिटर पानी आपूर्ति हुन्थ्यो भने हाल प्रतिसेकेण्ड ४० लिटर मात्रै आपूर्ति हुने गरेको छ । गत वर्ष यही मौसममा प्रतिसेकेण्ड ४८ लिटरसम्म पानी आपूर्ति भएको थियो ।
सुर्खेत उपत्यकामा हाल प्रतिदिन ८१ लाख ६४ हजार लिटर खानेपानी अपुग छ ।

उपत्यका खानेपानीको अर्को स्रोत खरी–बोरी खोला मुहानबाट प्रतिसेकेण्ड ३० लिटर पानी आपूर्ति हुने गरेको छ । यो मुहानबाट भने पानी आपूर्तिमा कमी नआएको संस्थाले जनाएको छ । इत्राम खोलाबाट प्रतिसेकेण्ड आड लिटर, खोर्केबाट चार लिटर, बुलबुले तालबाट दुई लिटर गरी संस्थाले प्रतिदिन ८४ लिटर प्रतिसेकेण्ड अर्थात् ७२ लाख ५७ हजार ६०० लिटर पानी आपूर्ति गर्दै आएको छ । संस्थाको सेवा क्षेत्र सुर्खेत उपत्यकाका लागि प्रतिदिन एक करोड ५४ लाख लिटर खानेपानी आवश्यक छ । औशतमा हिउँदको समयमा एक करोड ३५ लाख लिटर र सुक्खा खडेरीमा न्यूनतम औषत ८६ लाख लिटर मात्रै खानेपानी उपलब्ध हुने गरेको छ ।

Advertisement

प्रदेश राजधानी रहेको सुर्खेत उपत्यकामा बढ्दो जनसङ्ख्या र घट्दो पानीको स्रोतका कारण खानेपानीको सङ्कट बढ्दै गएको हो । संस्थाका प्राविधिक बालाराम तिवारीले साना तथा अल्पकालीन आयोजनाबाट उपत्यकाको खानेपानी समस्या समाधान गर्न सम्भव नहुने बताए । उनले दीर्घकालीन समस्या समाधानका लागि भेरी नदीबाट प्रतिसेकेण्ड ३८० लिटर पानी सुर्खेत उपत्यकामा ल्याउन बृहत् भेरी पम्पिङ आयोजनाको ठेक्का खोल्ने तयारी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री