शुक्रबार, ४ जेठ २०८१

सफाइ अभियानमा स्थानीयवासी

समयपोष्ट २०७६ जेठ १० गते १३:१३


कैलालीका योग साधकहरुले शहर सफा राख्न सन्देश दिने उद्देश्यले डेढ वर्षअघि थालेकोे सफाइ अभियानमा स्थानीयवासीको सक्रियता बढ्न थालेको छ । योग साधकसँगै जनप्रतिनिधि, प्रहरी, कर्मचारी, शिक्षक, समाजसेबी र व्यापारीहरु सरसफाइ अभियानमा सहभागी हुन थालेका छन् ।

Advertisement

योग साधकहरुले कैलाली जिल्लाका विभिन्न बजारमा प्रत्येक शनिबार सरसफाइ गर्दै आएका छन् । उनीहरूले शुरुका दिनमा विभिन्न सङ्घसंस्थामा आबद्ध व्यक्तिहरुलाई पहिले सम्मान गर्ने र पछि अभियानमा सरिक गराउने गर्दै आएका थिए ।

पतञ्जली योग समितिको आयोजनामा प्रत्येक शनिबार साढे ५ देखि साढे ७ बजेसम्म योग साधकहरुले बजार क्षेत्रका लम्की, चिसापानी टीकापुर, जोशीपुर बजारका फोहर सङ्कलन गर्दै आएका हुन् । करीब एक सय योगकर्मीले बजार सफाइ अभियान थालेकाले स्थानीय सरकारलाई समेत फोहर व्यवस्थापनमा लाग्नुुपर्ने बाध्यता भएको छ । “शुरुका केही हप्ता योग गर्नेहरु मात्र सहभागी हुन्थ्यौ, अहिले जनप्रतिनिधिलगायत हरेक सामाजिक व्यक्तित्व र कर्मचारी पनि हाम्रो अभियानमा सहभागी छन्”, पतञ्जलि योग कैलाली महिला समितिकी सल्लाहकार गीता गिरीले भने, “हप्ताको एक दिन त्यो पनि दुई घण्टा सामाजका लागि काम गरौँ भन्ने सन्देश दिन डेढ वर्षदेखि यो अभियान चलाएका हौँ ।”

यो अभियान थालेपछि स्थानीय सरकार पनि खुशी हुनाका साथै जनप्रतिनिधिहरु हातेमालो गर्न आएकाले आफूहरूका लागि सहज भएको हो । “सबैले अनुुसरण गरून् भन्ने हाम्रो उद्देश्य हो”, राष्ट्रिय योग प्रशिक्षक दीर्घराज गिरीले भने, “अभियान थालेपछि व्यापारीले जथाभाबी फोहर फाल्न छाडेका छन् भने टीकापुर नगरपालिकाले शनिबार अनिवार्य फोहर उठाउने गर्दै आएको छ ।” योग साधकहरु गाउँका बस्तीमा पनि जाने तयारीमा छन् । योग साधकहरुको अनुरोधमा स्थानीय निकायहरूले फोहर सङ्कलन गर्न चोकचोकमा डस्टबिन राख्न थालेका छन् । सङ्कलन भएको फोहरको कन्टेनर भरिएपछि तुरुन्त हटाउने आश्वासन स्थानीय सरकार प्रमुखहरुले दिएका छन् ।

योग साधकको अभियानपछि आफ्नो टोल आफैँ सफा राखौँ भनी स्थानीय महिलाहरु पनि सरसफाइ कार्यमा अग्रसर हुन थालेका छन् । स्वयंसेविका चन्द्रावती शर्माले भने, “हामीले टोल टोलमा गएर आ–आफ्नो स्थान सफा राख्न महिलाहरुलाई आग्रह गर्दै आएका छौँ”, उनले टीकापुर नगरपालिकामा मात्रै ३१ वटा टोलमा सरसफाइ समन्वय समिति गठन भएको जानकारी दिए ।

Advertisement

लम्की बजार क्षेत्रमा दैनिक १०, टीकापुरमा १८, जोशीपुरमा पाँच, जानकीमा तीन टन फोहोर सङ्कलन हुने गरेको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले भने, “पालो मिलाएर फोहर उठाउने गरेका छौँ । जनशक्ति कम छ । नगरवासी सबैले सघाएमा फोहर व्यवस्थापन गर्न कठिन छैन ।” लम्की चुहा नगरपालिकाका प्रमुख महादेव बजगाईंले विभिन्न समूह, योग साधकहरु, प्रहरी, सशस्त्र प्रहरीलगायत सङ्घसंस्थाले पनि पटक पटक सरसफाइ अभियान चलाएर नगर सफा राख्न सघाएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री