शुक्रबार, ४ जेठ २०८१

रक्तदान गर्ने युवाको सङ्ख्या बढ्दै

समयपोष्ट २०७६ जेठ ८ गते ११:०७

 

Advertisement


रोल्पामा रक्तदान गर्नेहरुको सङ्ख्या बढ्न थालेको छ । केही वर्ष पहिले रगत दान गरे कमजोर भइन्छ, विभिन्न रोग लाग्छ भन्ने गलत धारणा रहेको स्थानीयवासीमा विस्तारै चेतनाको स्तर उठ्न थालेपछि रगत दान गर्नेको सङ्ख्या बढ्दै गएको हो ।

“आजभन्दा एक/दुई वर्ष पहिले रक्तदान गर्नुपर्‍यो भन्दा प्रायः सबैले विभिन्न बहाना पारेर रगत दिँदैनथे, कयौँ कोसिस गर्दा पनि रगत दिन कोही तयार हुँदैनथे, बिरामीको ज्यान जसरी पनि जोगाउनु पर्‍यो, चिकित्सक हामी आफैँले रगत दिएर कतिको ज्यान जोगायौँ”, जिल्ला अस्पताल रोल्पाका सिनियर अहेव कुलबहादुर डाँगीले भने ।

“नेपाल रेडक्रस सोसाइटी रोल्पाको आकस्मिक रक्तसञ्चार सेवा पनि प्रभावकारीरूपमा सञ्चालन भएको थिएन, रक्तदान गर्नुपर्छ भन्ने भावना पनि अति न्यून, रगत अभावकै कारण हामीले कुनै सामान्य सेवाका लागि पनि बाहिर सिफारिस गर्नुप¥यो भने केहीले त रगतकै अभावमा अकालमै ज्यानसमेत गुमाए”, अहेव डाँगीले थने ।

“जिल्ला अस्पतालमा सामग्री र दक्ष जनशक्तिको अभाव छैन, खाली अभाव छ त आकस्मित रक्तसञ्चार सेवाको । पटक–पटक चिकित्सकले रक्तदान गरेर बिरामीको ज्यान जोगाए भनेको कति पटक सुने, यस क्षेत्रमा केही गर्नुपर्छ भनेर हामीले ‘ब्लड फर रोल्पा’ अभियान सञ्चालनमा ल्याएका हौँ”, युवा समाजसेवी तथा अभियानकर्मी विनोद डाँगीले भने, “यही अभियानका लागि हामीले मोबाइल एप्ससमेत सञ्चालनमा ल्याएका छौँ, रगत दिन चाहनेको रक्त समूह, नाम, ठेगाना, मोबाइल नम्बर सबै राखिएको हुन्छ, जिल्ला अस्पताललाई आवश्यक परेको खण्डमा उनीहरु फोन गर्छन्, हाम्रो टिम तुरुन्त पुग्छौँ, अनि रक्तदान गर्न तम्सिन्छौँ ।” अहिलेसम्म ‘ब्लड फर रोल्पा’ अभियानमा ८० युवा जोडिइसकेका छन् भने २५ ले रक्तदान गरिसकेको बताइएको छ ।

Advertisement

“रगत दिनुभन्दा पहिले त केही हुने हो कि भन्ने मनमा डर लागिरहेको थियो, जब रक्त परीक्षण गरी समूह पहिचान भयो, अनि रगत दिएँ, त्यस्तो केही गाह्रो महसुस गरिनँ, कमजोर पनि भएन”, रोल्पा नगरपालिका–२ का रक्तदान गरिसकेका स्थानीय युवा दिलबहादुर डाँगीले भने, “रगत दिन आफूलाई गर्वको महसुस गरेँ, मेरो सानो सहयोगले कसैको ज्यान बाँच्यो, यस्तै–यस्तै कुराले मनभरि खुशी छायो, यस्तो खुशीको महसुस मैले कहिले गरेको थिइनँ ।” उनले रगत दान गर्नु धर्म पनि भएको भन्दै यसले कसैलाई नयाँ जीवन दान दिने भएकाले पुण्य कामका लागि अवसर आएमा मौका नगुमाउनसमेत आग्रह गरे ।

हाल नेपाल रेडक्रस सोसाइटी रोल्पाले पनि आकस्मिक रक्तसञ्चार सेवालाई प्रभावकारी बनाउन विभिन्न अभियान सञ्चालन गरिरहेको छ । जिल्लामा विभिन्न स्थानमा रक्त समूह पहिचान गर्ने, रक्तदान गर्न अभिप्रेरित गर्ने, रक्तदान गर्दा हुने फाइदाका बारेमा जनचेतना फैलाउने तथा विभिन्न व्यक्तिको नाम, ठेगाना, सम्पर्क नम्बर सङ्कलन गर्ने कार्यलाई तीव्रता दिएको जिल्ला सभापति डिबी टुहुरोले जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०७३/७४ मा २२ युवाले र गत आर्थिक वर्ष २०७४/७५ मा २६ युवाले रक्तदान गरेका थिए । चालू आर्थिक वर्षमा ५६ युवाले रक्तदान गरेको जिल्ला अस्पताल रोल्पाले बताएको छ ।

रगत आवश्यक परेका बिरामीको मिलेसम्म उसकै आफन्त र आफन्त नभएको खण्डमा मात्र अरुको रगत दिने गरेको जिल्ला अस्पताल रोल्पाका डा अनुभव पौड्यालले बताए । चेतना बढेसँगै रक्तदान गर्ने युवाको सङ्ख्यामा वृद्धि भएको पौड्यालले बताए । आफ्नो स्वास्थ्य अवस्था ठिक भएको व्यक्तिले सहयोग गर्दा राम्रो हुने समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री