शुक्रबार, १४ वैशाख २०८१

यार्सागुम्बा सङ्कलनका लागि परिचयत्र अनिवार्य

समयपोष्ट २०७६ जेठ ४ गते १२:५४

Advertisement

जिल्लाका हिमाली क्षेत्रमा यस वर्ष यही जेठ दोस्रो साताबाट यार्सागुम्बा सङ्कलन शुरु गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जारी गरेको ‘यार्सागुम्बा सङ्कलन तथा ओसारपसार निर्देशिका–२०७३’ अनुसार जेठ दोस्रो साताबाट सङ्कलन शुरु गरिने भएको हो ।

यार्सागुम्बा सङ्कलनका लागि यो वर्ष परिचयत्र अनिवार्य गरिएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय, जिल्लाका विभिन्न सेक्टर, रेन्जपोष्ट लगायतबाट परिचयपत्र वितरण शुरु गरिएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिनुभयो । निर्देशिकाले सङ्कलकका लागि नागरिकता अनिवार्य गरेको छ । सोहि निर्देशिकाको आधारमा परिचय पत्र जारी गरिने बताइएको छ ।

निर्देशिकामा यार्सागुम्बा टिप्न संरक्षित क्षेत्रभित्रका जनतालाई रु पाँच सय, संरक्षित क्षेक्र बाहिरका सोही जिल्लाका व्यत्तिलाई रु एक हजार र जिल्ला बाहिरका व्यक्तिलाई रु दुई हजार राजस्व तोकिएको छ । जिल्लाका हिमाली भेगका स्थानीयको प्रमुख आयस्रोतको रुपमा रहेको बहुमूल्य यार्सागुम्बा सङ्कलन कार्यलाई यो वर्ष थप व्यवस्थित बनाउने गरी काम भइरहेको प्रमुख मेहताले बताउनुभयो ।

परिचय पत्र लिएर यार्सागुम्बा सङ्कलन गर्न जाने सङ्कलकको यो वर्षबाट पहिलो पटक वीमा गर्न शुरु गरिएको छ । यो वर्ष यार्सा सङ्कलनको अवधिमा १० जना सर्वसाधारण सङ्कलक, १० जना कर्मचारी र सुरक्षाकर्मीको वीमाको व्यवस्था गरिएको प्रमुख संरक्षण अधिकृत मेहताले जानकारी दिनुभयो । वीमा रु २० लाख बराबरको हुनेछ ।

“एक महिनाको अवधिमा यार्सागुम्बा सङ्कलनको क्रममा कुनै भवितव्य घट्ना भइहाले राहत स्वरुप वीमा कार्यक्रम अघि सारिएको हो”, उहाँले भन्नुभयो । सङ्कलकलाई जोखिमपूर्ण काम गर्दा हुने क्षति कम गर्न वीमा कार्यक्रम पहिलो पटक लागू गरिएको हो ।

अपिहिमाल गाउँपालिकाका लोलु, रोखापु, सतगंगा, कटेली गाड, बयेली, धरमघर, क्षत्तिगाड, चाइमटेला र व्यास गाउँपालिकाका अपि फेद, नाम्पा, दुधिवन, स्याङ्पा, गल्गासे, होमदङ्ती, घट्टेखोला, मुल्तीतिछडे, सितालनौन्था लगायतका क्षेत्रमा यार्सागुम्बा पाइने गरेको छ । जिल्लामा हरेक वर्ष सातदेखि आठ हजार यार्सागुम्बा संकलनकर्ता आउने गरेका बताइन्छ । बार्षिक झण्डै छ देखि आठ क्वीन्टल यार्सागुम्बा सङ्कलन हुने गरेको कार्यालयको तथ्याङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री