शनिबार, १५ वैशाख २०८१

नीति तथा कार्यक्रम प्रस्तुत : पुनर्निर्माण, राष्ट्रिय गौरवका आयोजना र उज्यालो नेपाल अभियान प्राथमिकतामा

समयपोष्ट २०७४ जेठ ११ गते ११:५३

सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिन । उनले निर्वाचन आचारसंहिता लागू भएकाले पुरानै कार्यक्रमलाई समेटिएर नीति तथा कार्यक्रम ल्याइएको बताइन् ।
यस वर्षको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनसहित सङ्घ र प्रदेशसभाको निर्वाचन तथा राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा दिगो आर्थिक वृद्धि, स्वरोजगार, उज्यालो नेपाल अभियान जस्ता विषयहरु समेटिएका छन् । 
सरकारले औद्योगिक क्षेत्रमा बाह्य लगानी बढाउने कामलाई निरन्तरता दिने भएको छ । स्थानीय तहमा वैज्ञानिक, सरल र पारदर्शी वित्तीय व्यवस्था गरिने पनि कार्यक्रममा उल्लेख छ ।
उज्यालो नेपाल अभियानमार्फत राष्ट्रलाई समृद्धितर्फ लगिने र त्यसैबाट देशलाई आत्मनिर्भरताको बाटोमा लगिने निति तथा कार्यक्रममा छ ।
यस्तै बुढीगण्डकी आयोजनालाई प्राथमिकतामा राखिएको तथा अन्तरदेशीय प्रशारण लाइन विस्तार, लोकमार्ग निर्माण जस्ता विषय पनि सरकारको प्राथमिकतामा परेको छ ।
आर्थिक समृद्धिका लागि सार्वजनिक, नीजि र सहकारी क्षेत्रको सहकार्यलाई अझ सुदृढ गरिने, भूकम्पपछिको पुनर्निर्माण र नवनिर्माणलाई प्राथमिकता दिइ आवास निर्माणलाई निरन्तरता दिइने नीति तथा कार्यक्रम सरकारले दिएको छ ।
राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनका लागि आवश्यक स्रोत साधन उपलब्ध गराइने प्रतिबद्धता पनि सरकारले जनाएको छ ।
वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्या्दित बनाइने, भारत र चीनसँगको सम्बन्धलाई नेपालको राष्ट्रिय स्वार्थ अनुकूल अगाडि बढाइने कार्यक्रम सरकारले तय गरेको छ । 
आधारभूत स्वास्थ्य निशुल्क पाउने व्यवस्था मिलाइने र गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित गरिने सरकारको नीति छ । नयाँ हवाइ रुट पहिचान गरी दुई देशीय सम्झौता गरिने, प्राथमिकता प्राप्त खानेपानी आयोजना कार्यान्वयनमा जोड दिनका साथै रणनीतिक महत्व र प्राथमिकता प्राप्त सडकको निर्माणमा प्राथमिकता दिइने सरकारको नीति रहेको छ ।
 संविधानले तोकेको मिति २०७४ माघ ७ भित्र संघ र प्रदेशको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको निति तथा कार्यक्रममा उल्लेख छ ।

Advertisement


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री