नेप्से परिसूचक घटेर बन्द, कारोबार रकममा पनि कमी
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। गत सातादेखि लगातार ओरालो लाग्दै आएको नेप्सेले यो क्रमलाई निरन्तरता दिएको हो।
बिहीबार नेप्से परिसूचक ८.४१ अंकले घटेर २६११.८५ विन्दुमा झरेको छ। परिसूचकसँगै कारोबार रकम पनि खुम्चिएको छ। बुधबार ८ अर्ब ७३ करोडको शेयर कारोबार भएको बजारमा बिहीबार ३२० कम्पनीका ७८ हजार ४९३ पटकको कारोबारमा ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार रुपैयाँबराबरको १ करोड ७४ लाख २३ हजार कित्ता शेयर किनबेच भएको छ।
यस दिन ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सो कम्पनीको शेयरमूल्य ५७.८० रुपैयाँ बढेर ६३६.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ। उपकार लघुवित्तको शेयरमूल्य ९.५ प्रतिशतभन्दा बढी उकालो लागेको छ भने बाराही हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। यता, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.६५ प्रतिशतले घटेको छ।
कारोबार रकममा सोल्टी होटल शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४६ करोड १९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। राधी विद्युत कम्पनीको ४४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको करिब ३३.५ करोडको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये ३ वटाको परिसूचक बढेको छ भने १० वटाको घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक ४.९१ प्रतिशतले सबैभन्दा धेरै बढेको छ। विकास बैंक उपसमूहको परिसूचक २.१२ प्रतिशतले सबैभन्दा धेरै घटेको छ। अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
प्रतिक्रिया