
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा उपनिर्वाचनमा खिमलाल देवकोटालाई मत दिन आग्रह गरेको छ।
हितमान शाक्य, नारायण दाहाल र शालिकराम जमकट्टेलले आज संयुक्त रूपमा विज्ञप्ति निकालेर जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनमा देवकोटालाई मत दिन आग्रह गरेका हुन् ।
‘वाग्मती प्रदेशबाट राष्ट्रियसभाका लागि प्रतिनिधिन्व गर्ने सदस्य रामबहादुर थापा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्ने गरी विगतमा निर्वाचित भएको कुरा अवगत नै छ । यसबीचमा निज रामबहादुर थापाले पार्टीको नीति, विधि र अनुशासन नमानी प्रतिगमनकारी तत्वको मतियार भई गणतन्त्र, संघीयता र संविधानविरोधी गतिविधिमा लागेकाले पार्टीले राष्ट्रियसभा सदस्यबाट कारबाही गरेकोले उक्त स्थान खाली हुन गयो,’ माओवादीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘उक्त खाली स्थानमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाली कांग्रेसलगायतका अन्य पार्टीहरुको समर्थन र सहयोगमा साझा उमेदवारको रुपमा डा खिमलाल देवकोटाले उमेदवारी दिनुभएको छ । संघीयता, गणतन्त्रका उपलब्धिहरुलाई नीतिगत ढंगले सदृढ गर्ने स्थान राष्ट्रियसभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्तित्व डा खिमलाल देवकोटालाई विजय गराउन हामी संघीयता पक्षधरहरुको दायित्व बन्न आउँछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैले वाग्मती प्रदेशसभाका सबै माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै आदरणीय प्रमुख, अध्यक्ष र उपप्रमुख,उपाध्यक्षलाई कलम चुनाव चिह्नमा मतदान गरी डा खिमलाल देवकोटालाई विजयी गराउन हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र वाग्मती प्रदेश समिति हार्दिक अनुरोध गर्दछ ।’
देवकोटा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षको संयुक्त गठबन्धनका उम्मेदवार हुन् ।










प्रतिक्रिया