शुक्रबार, १६ चैत २०८०

तीन सङ्क्रमितको मृत्यु, जिल्लाको अवस्था भयावह

RSS २०७८ जेठ २ गते ९:३८

Advertisement

महोत्तरी जिल्लाको विभिन्न स्थानमा आज एकबिहानै कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । एकैसाथ आज बिहानै तीन जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ । कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताउनुभयो ।

उहाँका अनुसार आज जिल्लाको गौशाला नगरपालिका–४ का ४० वर्षीय पुरुष, औरही नगरपालिका–७का ५५ वर्षीय पुरुष र सम्सी नगरपालिका–५ का ५५ वर्षीय पुरुष गरी तीन जनाको मृत्यु भएको हो । तीनै जनाको क्रमशः वैशाख २८, ३० र जेठ १ गते कोरोना पोजिटिभ भएर विभिन्न आइसोलेशनकक्षमा उपचार भइरहेको थियो ।मृतक तीनै जनालाई रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।

आज बिहानसम्म जिल्लामा जम्मा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३४ पुगेको छ भने १९ जना जिल्लाको विभिन्न आइसोलेशन केन्द्रमा उपचार गराइरहेका छन् । त्यसैगरी छ जनाको अवस्था गम्भीर भएर थप उपचारका लागि सिफारिससमेत गरिएको कोभिड फोकल पर्सन सिंहले बताउनुभयो ।

नुवाकोटका सङ्क्रमित युवाको मृत्यु

त्रिशूली– कोरोना सङ्क्रमित नुवाकोटका एक युवाको उपचारका क्रममा त्रिशूली अस्पताल नुवाकोटमा आज बिहान मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै शनिबार बिहान ४ बजे भर्ना भएका किस्पाङ गाउँपालिका–५ अर्चलेका ३३ वर्षका युवाको निधन भएको हो । अस्पतालको आइसोलेशन कक्षमा उपचाररत उनको अवस्था गम्भीर हुँदै गए पनि अस्पतालमा रहेको आइसीयू शय्या खाली नहुँदा बचाउन नसकिएको अस्पतालका प्रमुख डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

उहाँको आनुसार त्रिशूली अस्पतलामा कोरोना सङ्क्रमित बिरामीको चाप बढेसँगै शय्याको अभाव देखिएको छ । अस्पतालमा रहेको छ शय्याको आइसीयू, चार शय्याको एचडीयूसहित तीनवटा भेन्टिलेटरमा बिरामी भर्ना गरिएको कारण शय्या पाउन समस्या छ ।

ज्यान गुमाएका युवाको बुबाआमासहित परिवारका अन्य पाँच जनालाई पनि कोरोना सङ्क्रमित भएर स्वास्थ्यकर्मीको निगरानीमा राखिएको किस्पाङ गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो । यस अस्पतालमा आजको यस घटनासहित पछिल्लो चार दिनमा दैनिक एक जना सङ्क्रमितले ज्यान गुमाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री