प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ताको पत्र माओवादीले संसद् सचिवालयमा बुझायो

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ताको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ ।

Advertisement

माओवादी संसदीय दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहालले संघीय संसद्का महासचिवलाई लेखेको पत्र उक्त दलका प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतका नेताहरूले बुधबार बुझाएका हुन् ।

समर्थन फिर्ता पत्रमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने असंवैधानिक कदम चालेको, मुलुकका राष्ट्रिय मुद्दालाई सौदावाजीको विषय बनाएको तथा कोरोना महामारी नियन्त्रणमा असफल भएको’ आरोप लगाएको छ ।

त्यस्तै संविधानको ठाडो उलंघन गरेको, लोकतान्त्रिक मूल्यमान्यता एवं राजनीतिक नैतिकताको धज्जी उडाएर राजनीतिलाई सत्ताको फोहोरी खेलका रुपमा निकृष्ट ढंगबाट सञ्चलन गरेको पनि माओवादीको आरोप छ ।

माओवादी केन्द्रले ओलीले राष्ट्रिय मुद्दालाई सौदाबाजीको विषय बनाइ देशलाई बाह्य शक्तिको क्रिडास्थल बनाउँदै लगेको समेत बताएको छ । साथै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक र संसदीय मान्यता विपरित आदेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्दत् हुँदै गएकाले सरकारलाई दिएको समर्थन फिर्ता गरेको उल्लेख छ ।

Advertisement

‘सर्वोच्च अदालतको फागुन २३ को निर्णय पश्चात ३० दिनभित्र विश्वासको मत लिनुपर्ने ठाउँमा नलिएको र नियमित अधिवेशन बोलाउनुपर्ने समयमा संविधान र परम्परा मिच्दै वैशाख २७ गते विश्वासको मतका लागि सदन बोलाउने काम गरिएकाले माओवादी केन्द्रको निर्णय र नेकपा माओवादी संघीय संसदीय दलको निर्णयअनुसार प्रम केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन आजैका मितिदेखि लागु हुनेगरी फिर्ता लिएको जानकारी गराउँछु’, अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको समर्थन फिर्ता पत्रमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री