पत्रकार महतोद्वारा ५१ हजारको छात्रवृत्ति कोष स्थापना
महोत्तरी बर्दिवास घर भएका पत्रकार राजकरण महतोले ५१ हजार बराबरको छात्रवृत्ति कोषको स्थापना गरेका छन् ।
नारी शिक्षालाई उत्प्रेरित गर्न पत्रकार महतो आफैँले पत्रकारिताबाट कमाएर जोगाएको रु ५१ हजार बराबरको छात्रवृत्ति कोषको स्थापना गरेका हु्न् । आर्थिक अवस्था कमजोर भएकै कारण आफ्ना दिदिबहिनी स्कुलसम्म पुगेर पनि शिक्षा लिनबाट वञ्चित भएको भन्दै आफूले आफ्ना समुदायका दिदीबहिनीहरु शिक्षा लिनबाट वञ्चित हुन नपरोस् भनी कोषको स्थापना गरेको पत्रकार महतोले बताए ।
उनले विगतको इतिहास सम्झिँदै भने, “मेरी दिदी चन्द्रकुमारी महतोले सधैँ स्कुलसम्म पुर्याएर स्कुलको गेटबाट घर फर्किन्थे तर, उनले चाहेर पनि शिक्षा लिन सकेनन्, दिदीले घरको आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षा लिन नसकेको कुरा आफूलाई बच्चैदेखि लागेको र अब आगामी दिनमा मेरी दिदी झैँ अरु दिदिबहिनी शिक्षाबाट वञ्चित रहन नपरोस् भन्ने उद्देश्यले कोषको स्थापना गरेको हूँ ।”
जनता माध्यमिक विद्यालय डाँडा टोल विजलपुरा १३ बर्दिवासमै माविस्तर सम्मको पढाइ सकाएकोले त्यही विद्यालयमा उनले छात्रवृत्ति कोष स्थापना गरेका हुन् ।
सो छात्रवृत्ति कोष वापतको रकम बैंकमा जम्मा गरेर सोबाट आउने ब्याजको रकमबाट वर्षेनी सो विद्यालयमा जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने र मुलतः सो छात्रवृत्ति नारी शिक्षाकै लागि खर्चिने पत्रकार महतोले बताए ।
बैंकमा विद्यालयको प्रधानाध्यापक र कोष संस्थापकको हस्ताक्षर चल्ने गरी संयुक्त खाता खोलिएको र आगामी दिनमा थप सहयोग जुटाएर कोषमा रकम वृद्धि गर्दै लैजाने योजना उनले जानकारी दिए ।
प्रतिक्रिया