बिहीबार, २० वैशाख २०८१

यस्तो रह्यो प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन, ‘अंगदान र प्रत्यारोपण क्षेत्रमा देखिएको दुरी कम गर्न महत्वपूर्ण’

समयपोष्ट २०७६ वैशाख ८ गते २०:५८

Advertisement

दुई दिने प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन – २०१९ आज सम्पन्न भएको छ ।

‘ब्रिजिङ द ग्याप’ नारा सहित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, अंग प्रत्यारोपण समाज नेपाल, र ईन्डियन प्रत्यारोपण समाजको सहआयोजनामा काठमाडौमा आयोजना गरिएको उक्त सम्मेलन आज सम्पन्न भएको हो ।

स्वदेश तथा विदेशका गरी ३०० बढी विज्ञ तथा सरोकारवालाहरु सहभागी भएको सम्मेलनको समापन कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चिकित्सकको विज्ञता बढाउन, अध्ययन तथा तालिम व्यवस्था मिलाउन समायोजन ऐन बाधक नभएको दावी गरे । उनले चिकित्सकहरुको योग्यता अनुसार जुन स्थानमा आवश्यक छ त्यहाँ जान पाउने व्यवस्था मिलाउन लागेको जानकारी दिए । मन्त्री पण्डितले नेपालले प्रत्यारोपण क्षेत्रमा प्रगति गरिरहेकोमा खुसी व्यक्त गर्दै सराहना गरे । उनले प्रत्यारोपण क्षेत्रलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पनि नेपाल सरकार तयार रहेको जानकारी गराए ।

Advertisement

अन्र्तराष्ट्रिय प्रत्यारोपण सम्मेलनका संयोजक डा. पुकारचन्द्र श्रेष्ठले नेपालमा मिर्गौला उपचारको क्षेत्रमा फड्को मारेको बताए । उनले सरकारले मिर्गौला रोगको लागि उपचारमा मात्र खर्च नगरेर मिर्गौला रोग लाग्नै नदिनलाई जनचेतनामा पनि खर्च गर्नुपर्ने बताए । सम्मेलनले अंगदान र प्रत्यारोपण क्षेत्रमा देखिएको दुरी कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने उनले बताए ।

सम्मेलनको पहिलो दिन प्रत्यारोपण सम्बन्धि बिशुद्ध प्राबिधिक बिषयहरुमा छलफल भयो भने दोश्रो दिन नेपालको जिल्ला जिल्लामा समेत जनचेतना अभिबृद्धि गर्ने उदेश्यले बिशेष गरि मष्तिष्क मृत्युबाट हुने अङ्गदान सम्बन्धी छलफल भएको थियो ।

शनिवार सम्मेलनको उद्घाटन स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले गरेका थिए । उनले अंगप्रत्यारोपण क्षेत्रमा नेपालले प्रगति गर्दै गईरहेको बताएका थिए । अन्य देशको तुलनामा नेपालमा अंग प्रत्यारोपण सेवा सस्तो र भरपर्दो समेत देखिएको भन्दै उनले खुशी व्यक्त गरेका थिए साथै राज्यमन्त्री यादवले मिर्गौला प्रत्यारोपण क्षेत्रमा नेपालले हासिल गरेको उपलव्धी गर्व गर्न लायक भएको बताएका थिए ।

पूर्व स्वास्थ्य मन्त्री सांसद खगराज अधिकारीले अंग प्रत्यारोपण क्षेत्रमा राज्यले गरेको लगानी अनुरुप प्रतिफल समेत सकरात्मक पाईएको बताए । उनले मिर्गौलाको प्रत्यारोपण र उपचारका लागि राज्यले अनुदान दिईरहेको भन्दै नेपालको उपचार एकदमै प्रभावकारी समेत रहेको बताए ।

सम्मेलनमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट प्रस्तुत कार्यपत्र अनुसार हालसम्म ६ बर्षको अवधिमा ९९ प्रतिशतसफलताका साथ ६०१ जनाको मिर्गौला प्रत्यारोपण र नेपालमै पहिलो पटक ४ जनाको कलेजो प्रत्यारोपण तथा ६ जनाको मस्तिष्क मृत्युबाट आएको मिर्गौला सफलताका साथ प्रत्यारोपण भएको जानकारी गराईएको थियो ।

कार्यक्रममा इन्डियन प्रत्यारोपण समाजका अध्यक्ष डा. सन्दीप गुलेरिया, वरिष्ठ युरालोजिष्ट प्रा.डा. राकेश बर्मा, मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठ लगायतले मन्तव्य दिएका थिए ।

सम्मेलनमा अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, सिंगापुर, श्रीलंका र भारतका गरी ३० जना विदेशी विज्ञले भाग लिएका थिए । यस्तै सम्मेलनमा स्वदेशका प्रत्यारोपणविज्ञ, चिकित्सक, नर्स, स्वास्थ्य सेवासँग सम्बन्धित व्यक्तिहरु, अंगदाता तथा अंगप्रत्यारोपीहरुको सहभागिता थियो । साथै प्रत्यारोपण सम्वन्धी जनचेतना देशव्यापी बनाउन सम्मेलनमा देशभरका संघ, प्रदेश तथा जिल्ला अस्पतालका प्रमुख र नर्सिङ प्रमुखलाई समेत आमन्त्रण गरिएको थियो ।

सम्मेलनमा शहिद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द श्रेष्ठ, अंगप्रत्यारोपण समाज नेपालका अध्यक्ष डा. निरज गोबिन्द जोशी र ईन्डियन अंग प्रत्यारोपण समाजका अध्यक्ष प्रा.डा. सन्दिप गुलेरियाले अध्यक्षताको भुमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री