बिहीबार, १५ चैत २०८०

अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न २५९ हतियार सङ्कलन

समयपोष्ट २०७६ वैशाख ६ गते १८:२०

नारायण ढुङ्गाना

अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवबैध भन्दा वैध हतियार बढी छ ।

Advertisement

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार गत चैत १ देखि वैशाख ५ गतेसम्मको अवधिमा आएका २५९ हतियारमध्ये १७१ वटा वैध हतियार छन् । सो अवधिमा ८८ वटा अवैध हतियार सङ्कलन भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

गृहमन्त्रालयले सबै सुरक्षा निकायमा बुझाइएका हतियारको विवरण सङ्कलन भङ्रहेकाले एकमुष्ट सङ्ख्या भने केही दिनमा सार्वजनिक गर्ने जनाएको छ । मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले सबै क्षेत्रबाट विवरण सङ्कलन जारी रहेको जानकारी दिँदै सरकारी निर्णयपछि आपराधिक क्रियाकलापमा न्यूनीकरण भएको र शान्ति सुरक्षा सुदृढ हुँदै गएको बताए ।

विभिन्न व्यक्तिले सुरक्षाका लागि राखेका हतियार नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दुरुपयोग गर्न सक्ने आशङ्काले उनीहरुले वैध हतियार पनि सरकारलाई बुझाएको प्रहरीले अनुमान गरेको छ । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक समूह घोषणा गरी उसका गतिविधि रोक्ने निर्णय गरेसँगै अवैध हतियार बुझाउन चैत १ गते नै ३५ दिने सूचना जारी गरेको थियो ।

गृहमन्त्रालयले कानूनबमोजिम लिनुपर्ने इजाजत नलिई, नवीकरण नगराई वा इजाजतपत्र लिएको व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन यही वैशाख ५ गतेसम्मका लागि समयसीमा तोकेको थियो । प्रहरीमा बुझाइएका हतियारमा अधिकांश एक नाले भरुवा बन्दुक रहेका छन् । केही मात्रामा रिभल्वर, बाह्रबोर र बाइस बोरको राइफल, बाह्र बोरको सटगन, दुई नाले बन्दुकसमेत प्रहरीमा आएको छ ।

“सबै कार्यालयबाट हतियारको पूर्ण विवरण आउने क्रममा छ, प्रारम्भिक विवरणअनुसार अहिलेसम्म २५९ हतियार आएको छ”, केही हतियारको सङ्ख्या थपिन सक्छ,” प्रवक्ता सुवेदीले भने ।

विप्लवमाथिको निगरानी जारी

सरकारी निर्णय कार्यान्वयन गर्दै नेपाल प्रहरीले ७७ वटै जिल्लामा विप्लव समूहका गतिविधिमाथि सूक्ष्म निगरानी गरी नेता तथा कार्यकर्तामाथि कारवाही जारी राखेको छ । गएको फागुन २८ गते सरकारले विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने गरी उसका गतिविधि नियन्त्रण गर्ने निर्णय गरेसँगै प्रहरीले पक्राउ गरी कारवाही गर्न थालेको हो ।

विप्लव समूहका पछिल्ला गतिविधि राजनीतिकभन्दा पनि हिंसात्मक र आपराधिक देखिएको सरकारी निष्कर्ष छ । यद्यपि वार्ता र सहमतिमा आउन भने सरकारले आह्वान गर्दै आएको छ । पछिल्लो समयमा कतिपयले विप्लव समूह छाडेको घोषणासमेत गरेका छन् ।

उक्त समूह विगतमा चन्दा आतङ्कदेखि अपहरण, बम विष्फोट र व्यक्ति कारवाहीका घटनामा उक्त समूह संलग्न रहेको प्रहरीको दावी छ । विप्लव समूहले यसअघि विभिन्न क्षेत्रमा बम विष्फोट गराउनेदेखि आपराधिक क्रियाकलाप सञ्चालन गर्दै आएकाले उसका गतिविधिमाथि कारवाही गर्ने निर्णय गरेको मन्त्रालयको भनाइ छ । गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आपराधिक समूह भएको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेको थियो ।

विप्लव समूहका १८० हिरासतमा

विप्लव समूहका गतिविधिमाथि कारवाही गर्ने फागुन २८ को सरकारी निर्णयपछि प्रहरीले देशका विभिन्न जिल्लाबाट उसका १८० नेता तथा कार्यकर्ता पक्राउ गरी हिरासतमा राखेर कारवाही अगाडि बढाएको छ ।

उनीहरुमाथि मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिए । पक्राउ परेका बम विष्फोट तथा विभिन्न आपराधिक घटनामा संलग्न रहेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली र पोलिट्ब्यूरो सदस्य मोहन कार्कीसहितका नेता कार्यकर्ता छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री