बिहीबार, १५ चैत २०८०

अपर नौगाडबाट डेढ महिनाभित्र विद्युत् उत्पादन, बलाँचस्थित प्राधिकरणको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने

समयपोष्ट २०७६ वैशाख ५ गते ९:००

नरेन्द्रसिंह कार्की

Advertisement

नौगाड गाउँपालिकामा निर्माणाधीन अपर नौगाड दोस्रो जलविद्युत् आयोजना उत्पादनको अन्तिम तयारीमा पुगेको छ । आठ मेगावाट क्षमताको अपर नौगाडमा डेढ महीनाभित्रै विद्युत् उत्पादनको तयारी भएको छ । गत साउनमा आएको बाढीका कारण झण्डै दुई महीना ढिलो भएको हो ।

“अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको अपर नौगाड जलविद्युत् दोस्रोको काम अन्तिम चरणमा पुग्दैछ”, आयोजनाका इन्चार्ज मधुसुदन कोइरालाले भने, “पेनस्टकको अधिकांश काम पूरा भएको छ, पावरहाउसभित्र मेसिन जडान र सर्जट्याङ्क निर्माणकार्य भइरहेको छ ।”

उनका अनुसार पहिलो टेस्टिङ एक यो महीनाभित्र हुन्छ, उनले भने, दुवै सञ्चालन गर्न दुई महीना समय लाग्छ । २०७५ साउनमा नौगाड खोलामा आएको बाढीले निर्माणाधीन आयोजनामा ठूलो भौतिक क्षति भएको थियो । आयोजनाका अनुसार बाढीका कारण झण्डै रु १० करोड बराबरको क्षति भएको छ ।

नौगाड गाउँपालिकाको वडा नं ६ धुलिगडाको कुनेबगडदेखि फलामे पाइपमा पानी लगी सुकेखोलाको पावरहाउसमा खसालिनेछ । पाइपलाइन (पेनस्टक)को लम्बाइ पाँच किलोमिटर छ । विसं २०७३ असोजदेखि निर्माण शुरु भएको अपर नौगाड जलविद्युत् आयोजनाको लागत रु एक अर्ब ४४ करोड रहेको छ । अपर नौगाडमा उत्पादन भएको बिजुली शैल्यशिखर नगरपालिकाको वडा नं १ शिखर बलाँचस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसका लागि नौ किलोमिटर लामो ३३ केभिए प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ ।

अपि पावर कम्पनी लिमिटेडले यसअघि नगरपालिकाको वडा नं २ मा ८ दशमल ५ मेगावाट क्षमताको नौगाड प्रथम जलविद्युत् आयोजनाको निर्माण गरेको छ । नौगाड प्रथम जलविद्युत् आयोजना १८ महीनामै निर्माण सम्पन्न भएको हो ।

अपर चमेलिया निर्माण शुरु हुने

अपि पावर कम्पनीले दार्चुलाको मार्मा गाउँपालिका–२ स्थित घट्टेगाडमा माथिल्लो चमेलिया जलविद्युत् आयोजनाबाट ४० मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशको दुर्गम जिल्ला दार्चुलामा कम्पनीले निर्माण गर्न लागेका अपर चमेलिया जलविद्युत् आयोजना यो तेस्रो हो ।

यसअघि कम्पनीले ८ दशमलव ५ मेगावाट क्षमताको नौगाड जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विगत तीन वर्षदेखि निरन्तररूपमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् प्रवाह गर्दै आएको छ भने कम्पनीले निर्माण गरिरहेको दोस्रो आयोजना अपर नौगाड जलविद्युत् आयोजना ८ मेगावाट अन्तिम चरणमा पु¥याएको छ । कम्पनीले सम्पन्न गरेका आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया–बलाँच १३२ केभी डबल सर्किट ट्रान्समिसन लाइनमा जडान गरिनेछ ।

चालीस मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाबाट वार्षिक २६ दशमल ४१ करोड युनिट विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत्मध्ये ३३ प्रतिशत हिउँदका छ महीनामा र बाँकी ६७ प्रतिशत वर्षात महीनामा उत्पादन हुनेछ । कम्पनीले यो वर्षबाटै अपर चमेलिया विद्युत् उत्पादन शुरु गर्ने कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले बताउनुभयो । विद्युत् तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । अपर चमेलिया आयोजनास्थलसम्मै सडक पहुँच पुगेका कारण विद्युत् उत्पादनमा समस्या नरहेको कम्पनीले जनाएको छ ।

अपर चमेलिया नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माण गरिएको बहुचर्चित चमेलिया जलविद्युत् आयोजनाको विद्युत्गृहभन्दा १५ किलोमिटर माथि रहनेछ । दुर्गम जिल्लामा निर्माण हुने यस आयोजनाको लागत प्रति मेगावाट १८ करोडको हिसाबले आयोजनाको कुल लागत रु सात अर्ब २० करोड लाग्ने अनुमान छ । स्वदेशी लगानीमा निर्माण हुने आयोजनामा बैंक तथा वित्तीय संस्थाको ऋण र स्वपूँजी लगानीमा निर्माण गरिनेछ । आयोजनाको चार वर्ष अर्थात् २०७९ फागुनबाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । उत्पादन हुने विद्युत् प्राधिकरणको बलाँच सवस्टेशनमा जोडिनेछ ।

मकरीगाड हाइड्रोपावर सडक पर्खंदै

अपी हिमाल गाउँपालिकाको वडा नं ५ मकरीगाडमा निर्माण हुने १० मेगावाट मकरीगाड हाइड्रोपावर सडकका कारण निर्माणमा ढिलाइ भएको छ । जनवरीबाटै आयोजना शुरु गर्ने तयारी गरेको मकरीगाड जलविद्युत् आयोजना सडक नपुगेको कारण ढिलाइ भएको हो । अहिले आयोजना सडक सञ्जालको पर्खाइमा छ ।

आयोजनाका लागि कूल दुई अर्ब पाँच करोड लागत अनुमान गरिएको छ । आयोजनाले सन् २०१९ मा विद्युत् उत्पादन गर्ने लक्ष्य लिइए पनि हालसम्म सडकका कारण ढिलाइ भएको मकरीगाड हाइड्रोपारका इञ्जिनीयर उपेन्द्रबहादुर चन्दले बताए ।

नेपाल विद्युत् प्राधिकरणको बलाँचस्थित १३२ केभी सवस्टेशनमार्फत राष्ट्रिय विद्युत् प्रणालीमा जोडिने जनाइएको हो । अहिले विटुले पारिबगर खण्डेश्वरी सडक निर्माणको काम भइरहेको छ । सडकको ओखल क्षेत्रमा चट्टानका कारण ढिलाइ भएको छ । सडकको ट्र्याक खुल्न अझै ओखलमा एक महीना लाग्नेछ । हाइड्रोपावरका कर्मचारी विगत छ महीनादेखि मकरीगाडमा कार्यालय स्थापना गरी बसेका छन् । मकरीगाडसम्म अस्थायी ट्र्याक खुलाए पनि ओखलमा सडक रोकिएको छ । सडक पुग्ने बित्तिकै मकरीगाड हाइड्रोपावरले काम थाल्ने गरी तयारी भएको जनाइएको छ ।

साना जलविद्युत्को काम

विद्युत् उत्पादनको लागि राम्रो मानिएको चमेलिया नदी र सहायक नदीमा पनि विद्युत् उत्पादन गरिने भएको । अपी हिमाल गाउँपालिकाको वडा नं ३ क्षत्तिगाडमा १०० किलोवाट क्षमताका जलविद्युत् योजना शुरु भएको छ । एक वर्षभित्रै गाउँपालिकामा विद्युतीकरण गर्ने गरी क्षत्तिगाड जलविद्युत् योजनाको काम शुरु भएको छ । विद्युत्को लाइन विस्तार शुरु गरिएको छ भने विद्युत् निर्माणस्थलमा काम अघि बढाइएको छ ।

यस्तै अपी हिमाल गाउँपालिका–६ स्थित मज्जे खोलामा उत्पादन हुने १०० किलोवाट मज्जेखोला लघुजलविद्युत् आयोजना निर्माणको सम्झौता भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र स्थानीय सरकारको सहयोगमा निर्माण हुन लागेको जलविद्युत् यसै वर्ष शुरु गर्ने तयारी भएको उपभोक्ता समिति अध्यक्ष धर्मसिंह धामीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री