गोल्छा ग्रुपद्वारा किओचलाई ५ करोड सहयोग : बाल अस्पताल अभियानलाई ठूलो टेवा

नेपालको प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

बुधबार आयोजित एक विशेष कार्यक्रममा बालबालिकाहरूको सहज तथा गुणस्तरीय उपचारका लागि यो सहयोग हस्तान्तरण गरिएको हो । कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

Advertisement

सहयोग रकम हस्तान्तरण गर्दै गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले भने, “सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानमा जोडिन पाउँदा गर्व लागेको छ । हाम्रो फाउन्डेसनमार्फत सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै किओचसँग आजदेखि सहकार्य शुभारम्भ भएकोमा हर्षित छौं । यो सहकार्य भविष्यमा पनि निरन्तर रहनेछ । बाल अस्पतालमार्फत बालबालिकाहरूले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास छ ।”

त्यस्तै, सहयोग रकम बुझ्दै प्रा.डा. भगवान कोइरालाले भने, “यो अभियानमा गोल्छा ग्रुपको साथ र सहयोगका लागि आभार व्यक्त गर्दछु । यस सहयोगबाट हजारौं बालबालिकाहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेछन् र सातै प्रदेशमा निर्माणाधीन बाल अस्पतालहरूमा पनि ठूलो सहयोग पुग्ने विश्वास लिएको छु ।”

किओचले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने गुरुयोजना अघि सारेको छ । यस अन्तर्गत हाल कोशी प्रदेशको दमक र बागमती प्रदेशको काठमाडौंमा बाल अस्पताल सञ्चालनमा छन् । देशभरका बालबालिकालाई उच्च गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने मुख्य उद्देश्यले किओच स्थापना भएको हो ।

गोल्छा ग्रुप नेपालको सबैभन्दा पुरानो र अग्रणी व्यावसायिक समूहमध्ये एक हो । यसले नेपालमा औद्योगिकीकरणको सुरुवात गर्दै देशको पहिलो उद्योग स्थापना गरेको गौरवपूर्ण इतिहास बोकेको छ । हाल २० हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष रोजगारी दिइरहेको गोल्छा ग्रुप सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा पनि सक्रिय छ । यसअघि टिच फर नेपाल, डिसेबल्ड न्युलाइफ सेन्टर, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर, श्री सरस्वती माध्यमिक विद्यालय रामग्राम र नेपाल एम्बुलेन्स सर्भिस जस्ता संस्थासँग दशकौंदेखि सहकार्य गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री