ग्लोबल आइएमई बैंकको खुद नाफा ३७.१२% ले वृद्धि

ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको ३ अर्ब ३० करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो।

Advertisement

खुद ब्याज आम्दानी ५.४६ प्रतिशतले घटे पनि इम्पेरमेन्ट चार्जमा भएको कमीले नाफा बढ्न पुगेको छ। समीक्षा अवधिमा इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोडबाट घटेर ३ अर्ब ११ करोडमा सीमित भएको छ। यस्तै, खुद फि तथा कमिशन आम्दानी १७.३० प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ३४.४१ प्रतिशतले वृद्धि भएको छ। कुल सञ्चालन आम्दानी भने ०.६१ प्रतिशतले घटेको छ।

बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६६ पैसाले बढेर १५ रुपैयाँ ८६ पैसा पुगेको छ। चैत मसान्तसम्म बैंकको वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४ पैसा छ। सो अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १३.७९ गुणा र प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा रहेको छ।

बैंकले ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २८ अर्ब २० लाख रुपैयाँ सञ्चित छ। इम्पेरमेन्ट चार्जमा भएको कमी र कमिशन आम्दानीको वृद्धिले बैंकको वित्तीय स्थिरता र लगानीकर्ताको आकर्षणलाई थप बलियो बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री