बिहीबार, २० वैशाख २०८१

हिउँ चितुवा सर्वेक्षण : डोल्पामा एक सय २० हिउँ चितुवा

समयपोष्ट २०८१ वैशाख ७ गते १९:४९

Advertisement

हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा आज सार्वजनिक गरिएको छ । नतिजाअनुसार डोल्पाको संरक्षित क्षेत्रबाहिर पनि हिउँ चितुवाको उल्लेखनीय सङ्ख्या रहेको देखिएको छ । विसं २०८० को वैशाखदेखि भदौसम्म सञ्चालित व्यवस्थित क्यामेरा ट्याप सर्वेक्षणले शे– फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाहिरको पूर्वी डोल्पा क्षेत्रमा रहेका हिउँ चितुवाको सङ्ख्या यकिन गरेको छ ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको सहयोगमा गरिएको यस सर्वेक्षणले प्रतिएक सय वर्ग किलोमिटरको क्षेत्रमा हिउँ चितुवाको घनत्व १.५ रहेको अनुमान गरेको छ । यससँगै अध्ययन क्षेत्रभित्र ३० वटा हिउँ चितुवा रहेको यकिन हुन गएको छ ।

यसैगरी, चार वर्षअघि निकुञ्जभित्र गरिएको यस किसिमको सर्वेक्षणले प्रतिएक सय वर्ग किलोमिटरमा चितुवाको घनत्व २.२ रहेको अनुमान गरेको थियो । यस आधारबाट ९० वटा हिउँ चितुवा यो संरक्षित क्षेत्रभित्र रहेको यकिन भएको थियो ।

यसर्थ डोल्पामा हिउँ चितुवाको कूल सङ्ख्या एक सय २० हुन गएको छ । जुन सङ्ख्या नेपालकै सबैभन्दा उच्च हो र घनत्व पनि सबैभन्दा बढी हुन आउँछ । हिउँ चितुवा उच्च पहाडी पर्यावरणमा पाइने दुर्लभ, लोपोन्मुख र संरक्षित वन्यजन्तु हो ।

Advertisement

यो प्रजाति आफ्नो बासस्थान वातावरणमा शीर्ष सिकारी भएकाले पर्यावरणको स्वास्थ्य र सन्तुलन कायम राख्न हिउँ चितुवाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । ठूलो र दुर्गम भौगोलिक क्षेत्रको बासस्थानमा बस्ने भएकाले ठूला बिरालाहरूमध्ये विश्वव्यापी रूपमा सबैभन्दा कम अध्ययन गरिएका प्रजातिहरूमा यो प्रजाति पनि पर्छ ।

नेपालमा हिउँ चितुवाको बासस्थान (३० हजार वर्ग किलोमिटर) मध्ये ४२ प्रतिशत भाग संरक्षित क्षेत्रभन्दा बाहिर पर्छ । यी क्षेत्रहरू बासस्थान र कोरिडोर दुवैका रूपमा निकै महत्वपूर्ण छन् ।

पूर्वी डोल्पा नेपालको तीन संरक्षित क्षेत्र (शे–फोक्सुण्डो, ढोरपाटन सिकार आरक्ष र अन्नपूर्ण संरक्षण क्षेत्र) र हिउँ चितुवाको दुई भूपरिधि क्षेत्र (पश्चिम र मध्य) मा रहेका हिउँ चितुवाको सङ्ख्यालाई जोडेको छ । यस महत्वलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा यो महत्वपूर्ण प्रजातिको अध्ययन तथा अनुसन्धानलाई उच्च प्राथमिकता दिई विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

हिँउ चितुवा विश्वमा नै एसियाका १२ राष्ट्रमा मात्र सीमित रहेको र जम्मा चार हजारदेखि छ हजार पाँच सयको सङ्ख्यामा रहेको अनुमान गरिएको छ । हिउँ चितुवाका लागि नेपाल चौथो राष्ट्रमा पर्दछ र जहाँ तीन सयदेखि चार सय सङ्ख्यामा हिउँ चितुवा पाइने विश्वास गरिएको छ । यस हिसाबले हिउँ चितुवा अवलोकनका लागि विश्वमा नेपाल र नेपालमा डोल्पा एक प्रमुख गन्तव्य स्थापित छ ।

डिभिजन वन कार्यालय डोल्पाको कार्यक्षेत्रभित्र गरिएको यस सर्वेक्षणले छार्का ताङसोङ, काइके र डोल्पो बुद्ध गाउँपालिकाका राष्ट्रिय निकुञ्जबाहिर रहेका क्षेत्रमात्र समेटेको थियो । हिमाली भूभागमा पर्ने करिब दुई हजार वर्गकिलोमिटर क्षेत्रफलमा ६० दिनसम्म यो अध्ययन गरिएको थियो । यो अध्ययनमा ३३ जना नागरिक वैज्ञानिक, डिभिजन वन कार्यालय डोल्पाका सात जना कर्मचारी, तीनजना विद्यार्थी र दुईजना डब्लुडब्लुएफ नेपालका वन्यजन्तु अनुसन्धानकर्ताहरू सामेल थिए । वन तथा भू–संरक्षण विभाग र डिभिजन वन कार्यालय डोल्पाको नेतृत्व अनि डब्लुडब्लुएफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पादित यस सर्वेक्षणका लागि ६६ ठाउँमा ‘क्यामेरा ट्र्याप’हरू जडान गरिएका थिए ।

यो सर्वेक्षणले पहिलोपटक संरक्षित क्षेत्रबाहिर बाक्लो सङ्ख्यामा हिउँ चितुवा रहेको बलियो प्रमाण मात्र देखाएको छैन, नेपालमा हिउँ चितुवाको सङ्ख्या बुझ्न पनि सघाएको छ । यस सर्वेक्षणले संरक्षित क्षेत्रबाहिर पनि प्रभावकारी संरक्षणका प्रयासहरूको आवश्यकता रहेको पुष्टि पनि गरेको वन तथा भू–संरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले बताउनुभयो । “हामी यस उपलब्धिमा डिभिजन वन कार्यालय डोल्पालाई बधाई दिन्छौँ । यससँगै अनुसन्धानमा खटिने वन्यजन्तु अनुसन्धानकर्ताहरू, नागरिक वैज्ञानिकहरू, स्थानीय आदिवासी समुदायहरू र डब्लुडब्लुएफ नेपालका साथमा काम गर्न पाउँदा हामी निकै खुसी छौँ,” उहाँले भन्नुभयो ।

डब्लुडब्लुएफका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङले विश्वव्यापी रूपमा हिउँ चितुवाको अनुसन्धान र संरक्षण गर्नमा विभिन्न प्रयास भइराखेको उल्लेख गर्दै नेपाल सरकारलाई सहयोग गर्न र हिउँ चितुवाको दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदायसँग साझेदारी गर्न पाउँदा थप जिम्मेवार हुन प्रेरित गरेको बताउनुभयो । उहाँले हिउँ चितुवाको संरक्षण र स्थानीय समुदायको विकासलाई समानान्तर रूपमा अघि बढाउन डब्लुडब्लुएफ नेपालले समुदायमा आधारित संरक्षणका प्रयासलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आगामी दिनहरुमा मानव–हिउँ चितुवा द्वन्द्व न्यूनीकरणका लागि पशु बीमा तथा राहत व्यवस्था र घरपालुवा पशुचौपायाको चरिचरन क्षेत्र व्यवस्थापन आवश्यक देखिएको छ । साथै हिउँ चितुवा संरक्षण तथा पर्यापर्यटन प्रवद्र्धन र जडीबुटी उत्पादन क्षेत्रका रुपमा पनि विकास गर्न दिगो, वैज्ञानिक र एकीकृत व्यवस्थापनतर्फ सबैको साझा पहल, प्रयास र अभ्यास हुने अपेक्षा गरिएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री