मंगलबार, १८ वैशाख २०८१

सहकारीबाट भेटियो गृहमन्त्री लामिछानेको नाममा १ करोड ८० लाख ऋण

समयपोष्ट २०८१ वैशाख ३ गते २१:५८

Advertisement

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा रकम आएको भेटिएको छ ।

प्रहरीले गरेको अनुसन्धानबाट लामिछानेले १ करोड ८० लाख रुपैयाँ ऋण लिएको भेटिएको रुपन्देही जिल्ला अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ । सो रकम लामिछानेले २०७८ पुस ७ मा लिएका हुन् ।

सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटालामा संलग्न ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दायर गरेको छ ।

सहकारी सञ्चालकहरूसँग सरकारी वकिलले १ अर्ब २ करोड मागदाबी लिएको छ । सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपतिका छोरा एवं पूर्वकोषाध्यक्ष दिपेश पुन, दुर्गा चापागाईँ पाण्डे, दीपक न्यौपाने र निता थापा मागर पक्राउ परेका छन् । ५ जना बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ ।

गोर्खा मिडिया नेटवर्कको नाममा करोडौं रकम निकासा भएको अनुसन्धानबाट देखिएको छ ।

सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए ।

तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री