शुक्रबार, १६ चैत २०८०

विद्यालय भवन पुनःनिर्माणका लागि सवा करोड सहयोग

समयपोष्ट २०७४ चैत २९ गते ६:०४

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविको भवन पुनःनिर्माणका लागि प्रवासमा रहेका पूर्व विद्यार्थीको पहलमा सवा करोड रुपैयाँ आर्थिक सहयोग जुटेको छ ।

Advertisement

विद्यालयको ५०औँ स्थापना दिवसका अवसरमा नेपाल, बेलायत, हङ्कङ, कोरिया, जापान, अमेरिकालगायत देशमा रहेका पूर्व विद्यार्थीले रु एक करोड २५ लाख जुटाएका हुन् ।

बेगखोला कल्याणकारी समाजको पहलमा संकलन भएको उक्त रकम वैशाख १ गते स्वर्ण जयन्तीको अवसरमा विद्यालयमा आयोजना हुने कार्यक्रममा हस्तान्तरण गरिने आज बेनीमा आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष योगकुमार फगामीले जानकारी दिनुभयो ।
विसं २०२५ मा औपचारिक रुपमा स्थापना भएको विद्यालयको भवन पुरानो र जीर्ण भएकाले सुविधासम्पन्न भवन निर्माण र गुणस्तर सुधार गर्ने उद्देश्यले सहयोग संकलन अभियान सञ्चालन गरेको समाजका हङ्कङ अध्यक्ष गिरी शेरपुञ्जाले बताउनुभयो । हङ्कङबाट हालसम्म रु ३६ लाख ५० हजार सहयोग जुटिसकेको बताउँदै शेरपुञ्जाले अभियान जारी रहेको जानकारी गराउनुभयो ।

सहयोग संकलन अभियानका बेलायत संयोजक नक्कु पुर्जाले कक्षा कोठा, कम्प्यूटर, प्रयोगशाला, पुस्तकालय, प्रशासनिक कक्षका लागि भवन निर्माण गर्न चन्दा दाताले सहयोग घोषणा गरेको बताउनुभयो । विद्यालयका पूर्व प्रअ दूतबहादुर गर्बुजाका अनुसार कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा हाल १७० जना विद्यार्थी अध्ययनरत छन् ।

वैशाख १ र २ गते मनाइने स्वर्ण जयन्ती समारोहको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रममा जानकारी गराइएको थियो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री