शनिबार, ८ वैशाख २०८१

मह शिकारको याम : मह खोज्दै भिर भिरमा

समयपोष्ट २०७४ चैत २२ गते ८:४०

ध्रुवसागर शर्मा

Advertisement

म्याग्दीका अक्करे भिरमा यतिबेला मह शिकारको याम शुरु भएको छ ।

मह शिकारी डोरीको सहायताले भिरमौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुण्डिएर मह काटिरहेका छन् । तल बसेर हेर्दा रोमाञ्चक तर अत्यन्तै त्रास लाग्ने यो दृश्य देख्नेको मुटुको धड्कन बढ्छ ।

भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ, यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ । म्याग्दीको हिस्तान, चिमखोला, मुदी गुर्जा दोसल्ले, शिखलगायतका गाउँमा रहेका भिरमा भिरमौरीले लगाएका गोला काट्नका लागि मह शिकारी डोरी (परङ) मा झुण्डिएर मह शिकार गरिरहेका छन् ।
वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँशी र शरदमा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त हुने मह शिकधारीरू बताउँछन् ।

मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँढिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुण्डाउँछ भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछ ।

यसरी भिरमा आफ्नो ज्यानको बाजी लगाएर निकालिने महबाट शिकारीले आकर्षक आम्दानी पनि गरिरहेका छन् । स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिने भिरमहको माग जति स्थानीय बजारमा छ, त्योभन्दा दोब्बर अन्तर्राष्ट्रिय बजारमा छ । विभिन्न किसिमका औषधि बनाउन पनि यसको प्रयोग हुँदै आएको मह व्यापारीको भनाइ छ ।

“महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन्, धुवाँ लगाइदिएपछि मौरी भाग्छन्, त्यतिबेला मह निकाल्ने विशेष ध्यान पु¥याउनुपर्छ ।” मह शिकारी अनिल घर्ती भन्नुहुन्छ ।

जब परङमार्फत गएका शिकारीले गोलामा धुँवा झोस्न शुरु गर्छ, माहुरीले टोक्ने डरले वरपरका सबै शिकारी रुख र ओडारमा लुक्छन् । माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरु बाहिर आउँछ अनि मह निकाल्न सजिलो हुने उहाँ बताउनुहुन्छ मुख्य शिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ ।

“मह निकाल्न सकियो भने बजारको खासै समस्या हुँदैन, व्यापारी जंगलमै आइपुग्छन् । बजारमा महको प्रतिलिटर रु दुई हजारमा बिक्री हुुन्छ । अन्तर्राष्ट्रियस्तरमा यसको माग उच्च छ, यहाँबाट कोरियामा धेरै मह जाने गरेको छ, अब यसलाई थप व्यावसायिकरण बनाउँदै लैजानुपर्ने सो समूहका अगुवा समेत रहनुभएका अनिल घर्तीको सोच छ ।

हामी जिल्लाको अधिकांश ठाउँमा महको शिकार गर्न जान्छौँ, जहाँ मह निकाल्छौँ त्यहाँको आमा समूह वा क्लबलाई केही रकम दिन्छौँ अनि उहाँहरुको अनुमतिमा हामीले मह निकाल्छौँ ।अहिले हाम्रो पाँच जनाको टोली छ । हाम्रो आम्दानीको मुख्य स्रोत नै यही हो । उहाँको भनाइ छ ।

“सानो डोरीको सहायताले अडिनुपर्छ, पूरै हातले काम गर्ने हो, त्यसका लागि मुटु दह्रो र हात बलियो बनाउनुपर्छ” उहाँ भन्नुहुन्छ “हामी पनि पुर्खाले गरेको हेरेर सिकेका हौँ ।” यस्तो जोखिम मोलेर निकालेको मह बजारमा रु एक हजारदेखि एक हजार २०० प्रतिलिटर बिक्री हुने गर्दछ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिबद्र्धक हुनुका साथै धार्मिक कार्यका लागि पनि प्रयोग हुने भएकाले भिरमहको माग उच्च हुने गरेको मह व्यापारीले बताएका छन् ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री