शुक्रबार, २१ वैशाख २०८१

एमसीसी अन्तर्गत बन्ने प्रसारणलाइनको लागि पाल्पा, धादिङ र तनहुँमा जग्गा प्राप्ति प्रक्रिया सुरु

समयपोष्ट २०७९ फागुन २३ गते १२:४६

Advertisement

मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले विद्युत प्रसारणलाइनको जग्गा अधिग्रहणको प्रारम्भिक प्रक्रिया अघि बढाएको छ ।

एमसीए नेपालले सार्वजनिक सूचना प्रकाशन गर्दै पाल्पा, धादिङ र तनहुँमा जग्गा अधिग्रहण प्रारम्भिक प्रक्रिया अघि बढाएको हो।

जग्गा प्राप्ती ऐन-२०३४ अनुसार आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गरिने भएकाले नापजाँच गर्ने, सर्वेक्षण गर्ने, साँध छुट्याउने, किला गाड्न लागिएको छ। ‘तीन दिनपछि प्राविधिक सहितको टोली खटि आउने हुँदा जग्गा धनी, टोलबासी तथा सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ।

तीनवटै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकले जग्गा प्राप्तीको कार्य अघि बढाउने निर्णय गरेको छ।

Advertisement

यो प्रसारणलाइन लप्सिफेदीबाट रातमाटे हुँदै बुटवलबाट भारतीय सीमासम्म जोडिनेछ। प्रसारणलाइन ५ खण्डमा विभाजन गरिएको छ। लप्सीफेदी-रातमाटे पहिलो खण्ड ५९ किलोमिटर छ, जसमा १६३ वटा टावर निर्माण हुनेछ। दोस्रो रातमाटे-नयाँ हेटौंडा ५८ किमि छ। जसमा १४२ वटा टावर निर्माण हुनेछ। रातमाटे-नयाँ दमौली ९० किमि खण्डमा २४९ वटा टावर रहनेछन्। चौथो नयाँ दमौली-बुटवल ९० किमिमा २४८ वटा टावर प्रस्ताव गरिएको छ।

नयाँ बुटवल-भारतीय सीमा ५२ किमिको अन्तिम खण्ड १८ किमिको हुनेछ। जसमा ५२ टावर रहेनछन्। यो प्रसारणलाइन कुल ८५४ टावर निर्माण हुनेछ। प्रसारणलाईन निर्माण गर्न २ लाख वटा रुखहरु काट्नुपर्छ।

रातमाटे , दमौली र न्यु बुटवल गरि तीन वटा नयाँ सवस्टेशन निर्माण हुनेछ। दमौली र न्यु बुटवलमा नेपाल विद्युत प्राधिकरण स्वामित्वको जग्गा प्रयोग हुनेछ। भने रातमाटेमा करिव ५ सय रोपनी जग्गा अधिग्रहण गरिनेछ। यो प्रसारणलाइनले ३००० मेगावाट विद्युत प्रसारण गर्न सक्नेछ।

प्रसारणलाइन काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर, परासी हुँदै जानेछ। निर्माणपछि ढल्केबर-मुजफ्फरपुर पछिको दोस्रो अन्तरदेशीय प्रसारणलाई हुने दाबी गरिएको छ।

‍नयाँ बुटवल-दमौली, रातमाटे-नयाँ हेटौंडा, रातमाटे- नयाँ दमौली खण्डका लागि जग्गा अधिग्रहण गर्न लागिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री