बिहीबार, १३ वैशाख २०८१

शहिद स्मृतिको उपाधि देशभक्तलाई

समयपोष्ट २०७५ फागुन १० गते १८:१३

Advertisement

रामनगर मैदानमा सम्पन्न चौथौ शहिद स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि देशभक्त युवा क्लब नवलपरासीले हात पारेको छ ।

आज भएको फाईनल खेलमा सिद्धार्थ क्लब चपरहट्टीलाई २–१ गोल अन्तरले पराजित गर्दै देशभक्तले उपाधि चुमेको हो । उपाधिसंगै देशभक्तले नगद रु एक लाख एक हजार र मेडल, कप, तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सिद्धार्थले रु ५० हजार पाँच सय सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा देशभक्तका बिरेन्द्र सारु उत्कृष्ट गोलरक्षक, बिनोद केवट सर्वाधिक गोलकर्ता र सिद्धार्थका अनिष गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । शहिद स्मृति खेलकुद क्लबको आयोजना तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको सहकार्यमा रामनगर मैदानमा भएको खेलका विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीलाई एक समारोहमा प्रदेश नं ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लिला गिरी र नेकपाका केन्द्रिय सदस्य बामदेव क्षेत्रीले पुरस्कार वितरण गरेका थिए ।

लुम्बिनी कप कराते प्रतियोगिता

प्रथम अन्तर मावि जिल्ला स्तरीय लुम्बिनी कप कराते प्रतियोगिता यहाँ शुरु भएको छ । नेपाल सितोरियो कराते संघ रुपन्देहीको आयोजनामा आजदेखि शुरु भएको प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका छन् ।

बुद्ध जन्मस्थल लुम्बिनीसँग कराते खेललाई जोडेर अन्तराष्ट्रियस्तरमा पहिचान बनाउने लक्ष्यसहित विद्यालयस्तरमा प्रतियोगिता गरिएको नेपाल सितोरियो कराते संघका अध्यक्ष उमेश थापाले बताए । जिल्ला खेलकुद विकास समितिको परिसरमा हुने प्रतियोगितामा २३ विद्यालयका खेलाडीले प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक कृष्ण देवकोटाले जानकारी दिए । महिला, पुरुषका कातासमेत गरि कुल २० स्वर्ण, २० रजत र ४० कास्य पदकका लागि खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री