कुलमानले विद्युत् चुहावट २५.७८% बाट १५.४५% मा झारे
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो पाँच महिनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झार्न सफल भएको छ ।
प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।
जसले गर्दा गत आर्थिक वर्ष २०७४/७५ मा प्रणालीमा औसत २०.४५ प्रतिशत रहेको विद्युत् चुहावटलाई चालु आवको ५ महिनामै १५.४५मा झार्न प्राधिकरण सफल भएको हो ।
चालु आवमा विद्युत चुहावट १८.५प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । प्राधिकरणले लक्ष्यलाई पूरा गर्न धेरै विद्युत चुहावट भएका वितरण केन्द्रलाई धेरै र कम चुहावट भएकालाई कमको चुहावट नियन्त्रणको लक्ष्य दिएको छ ।
प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत चुहावटमा उल्लेख्य कमी आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘मैले २०७३ भदौमा जिम्मेवारी सम्हाल्दा विद्युत चुहावट औसतमा २५.७८ प्रतिशत थियो त्यसपछि आव २०७३÷७४मा घटाएर २२.९ मा झार्यौं, आव ०७४÷७५ मा २०.४५ मा रहेको चुहावटलाई घटाएर चालु आवको पाँचमहिनामै १५.४५ प्रतिशतमा सीमित गर्न सफल भएका छौ’ं,उनले भने ।
‘आवको बाँकी अवधिमा हाल रहेको चुहावटलाई अझै घटाउने गरी काम गरिरहेका छौं यस कार्यमा विशेष गरी वितरण तथा ग्राहक सेवा अन्तर्गतका व्यवस्थापक र दिन रात नभनी खटिएका कर्मचारी साथीहरुको भुमिका महत्वपुर्ण रहेको छ । चुहावट नियन्त्रणका लागि राति खटिंदा हाम्रा कर्मचारीहरुले पिटाई समेत खाएका छन् ।’
प्राधिकरणले करिब १० प्रतिशतको चुहावट नियन्त्रणबाट वार्षिक करिब ७ अर्व रुपैयाँ थप आम्दानी गर्नेछ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं प्राधिकरण संचालक समितिका अध्यक्ष वर्षमान पुनले विद्युत चुहावट घटाउने, संस्थाभित्रको आर्थिक तथा प्रशासनिक वेतिथी नियन्त्रण गरी सुशासन कायम गर्ने, सेवा प्रवाहलाई सुधार गर्ने लगायतका निर्देशन प्राधिकरण व्यवस्थापनलाई दिएका छन् । प्राधिकरणले अहिले सोहीअनुसार काम गरिरहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
प्रतिक्रिया