शुक्रबार, ७ वैशाख २०८१

छोरा जन्माउने आशमा छोरीछोरी, ३६ वर्षमै स्वास्थ्यमा असर 

समयपोष्ट २०७३ फागुन १५ गते ३:४१

saroj dhungelसरोज ढुंगेल 
काभ्रेपलान्चोक जिल्लाको मिथिनकोटकी ३६ वर्षीया राममाया शर्मा प्याकुरेललाई ‘दुई सन्तान ईश्वरका वरदान’ भन्ने भनाइ राम्रोसँग थाहा छ तर उनकै पाँच छोरी र एक छोरा छन् । 
राममायाको एकल निर्णयले छजना छोराछोरी जन्मिएका भने होइनन् । सासू–ससुरा र श्रीमान्का कारणले गर्दा उनी बर्सेनि बग्रेल्ती सन्तान जन्माउन बाध्य भइन । आधा दर्जन सन्तानको जन्माइसकेकी राममायालाई दुई सन्तान छोरा या छोरी जे भए पनि पुग्ने थियो । परिवारकै कारणले गर्दा उनले छजना सन्तान जन्माउन बाध्य हुनुपर्यो ।  एकातर्फ उनलाई  पारिवारिक दायित्व छ भने अर्कोतर्फ उनको स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थालेको छ ।  
हाल मेथिनकोट  अस्पतालमा कार्यरत चिकित्सक नेहा ठाकुरले अधिकांश महिला महिला स्वास्थ्यसम्बन्धी समस्या लिएर आउने गरेको बताइन । उनले दैनिकजसो ७० देखि १०० संख्यामा विरामी अस्पतालमा स्वास्थ सेवा लिनका लागि आउने गरेको जानकारी दिँदै गर्भवती महिला पनि त्यही अनुपातमा आउने गरेको जानकारी दिइन । मासिक दुई सय महिला गर्भावस्था परीक्षणमा आउने गरेको उनले बताइन । 
गत पुस महिनाको अस्पतालमा रहेको तथ्याङ्क हेर्ने हो भने सात सय २४ महिला र चारसय पुरुषहरूले स्वास्थ्य सेवा लिएको देखिन्छ । गत सातामात्र अस्पतालमा सातवटा प्रसूति गरिएको भने ३ जनाको घरैमा प्रसूति भई साल अड्केको महिलाको उपचार गरिएको थियो । सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत पूर्व प्रस्तुति सेवा (एएनसी) र सुरक्षित प्रस्तुति सेवा (डेलिभरी सर्भिस) आकस्मिक सेवा चौबिसे घण्टा सञ्चालनमा ल्याएको छ । 

Advertisement

राममायाको स्वास्थ्यमा समस्या भएकै कारण गत सोमबार मिथिनकोट स्वास्थ्य केन्द्रमा भेटिइन् । प्याकुरेलले गुनासो पोख्दै भनिन् ‘धेरै सन्तान जन्माएका कारण मलाई अहिले महिनावारीको समस्या छ, त्यतिमात्र होइन, ढाड दुख्ने, कम रक्तचाप, कम्मर दुख्ने,पेट दुख्नेदेखि लिएर दशौंवटा स्वास्थ्य समस्या झेलिरहेकी छु ।‘  
rammayaराममायाकी पहिलो सन्तान यतिखेर १७ वर्षकी भइन् । उनले १७ वर्षमै पहिलो सन्तानको रुपमा छोरी जन्माएकी थिइन् । त्यसपछि उनले लगातार अन्य पाँच सन्तानलाई जन्म दिइन । ‘मलाई छोरा–छोरी जे भए पनि सन्तान भए पुगेको थियो, श्रीमान्को छोराप्रतिको मोहका कारण ३६ वर्षमै धेरै दुःख पाउनुपर्यो, राममायाले भनिन् ।
उनले पटक–पटक श्रीमान्लाई छोरी जन्मिए नि छोरो–छोरी उस्तै हुन् भनेर सम्झाउने कोसिस गरिन् तर श्रीमान् नमानेकै कारण ३६ वर्षको उमेरमा छवटा सन्तानकी आमा हुनुपर्यो । अहिले छ सन्तानको लालनपालन र शिक्षा–दीक्षा दिन पनि राममायालाई धौ–धौ परेको छ । 
उनलाई अफ्ठ्यारो छ, गुनासो गरौं श्रीमानको कारणले छोराछोरी धेरै भएका छन् । उनीहरुको भविष्यको पनि चिन्ता छ । श्रीमान र सासू ससुराको कारण प्याकुरेलको परिवारमा पारिवारिक बोझ बढेको छ । 
‘मैले हरेश खाएको छैन, श्रीमान्ले कमाएको पैसा मलाई दिनुहुन्छ, त्यसैबाट मैले धौ–धौ गरेर घरपरिवार चलाउने गरेको छु । पहिलो सन्तानको रुपमा मेरो छोरी जन्मिँदा सबैले घरमा लक्ष्मी भित्रिइन् भनेर मलाई सहयोग र माया ममता दिनुभयो, श्रीमान् पनि खुशी नै हुनुहुन्थ्यो, राममाया भन्छिन् ‘जब मेरो दोस्रो सन्तान पनि छोरी नै भइन, त्यसपछि सबैले मलाई हेला गर्न थाल्नुभयो अनि मेरा दुःखका दिन सुरु हुन थाले ।’    
उनले श्रीमान्लाई परिवार नियोजन गर्नुपर्छ भनेर पटक–पटक सम्झाउथिन् तर छोराप्रतिको मोहका कारण श्रीमान्ले नमानेकै कारण उनले यतिका सन्तान जन्माउन बाध्य हुनुपर्यो । ‘स्वास्थ्य अवस्था बिग्रिएको कारण चिन्ता लागिरहन्छ । १५ दिन वा महिना दिनको फरकमा स्वास्थ्य संस्थामा गइरहनुपर्छ, विगत सुनाउँदै राममाया भन्छिन् ‘मैले सन्तान धेरै जन्माउनु हुँदैन भन्दा श्रीमान्ले मलाई तँ माइती गएर बस, म मेरै सुर गर्छु भनेर बारम्बार भन्नुहुन्थ्यो, छोरी मान्छे कहाँ माइत गएर बस्नू, डरै भयो मलाई, त्यसपछि मैले बर्सेनि बच्चा जन्माएँ ।’

 जतिबेला राममाया माइतीघर जान्थिन उनलाई माइतीका बुबाआमाले धेरै सन्तान जन्माउनु हुँदैन भनेर बारम्बार सम्झाउने गर्दथे ।  उनि भन्छिन ‘नानी हुन्देऊ जति सन्तान जन्माए पनि दुःख आफैंलाई हो, आफैं रोगी भइन्छ, अहिले छोराछोरीमा भेदभाव गर्नु हुँदैन, छोरीले पनि त पढेर राम्रो काम गर्न सक्छन् भन्नुहुन्थ्यो ।’
राममाया माइतबाट घर फर्केपछि आफ्ना श्रीमान्लाई सम्झाउने प्रयत्न गर्थिन तर श्रीमान्को छोराप्रतिको एकोहोरा ढिपीले गर्दा उनी वाकदिक्क बनिन । उनी सुस्केरा हाल्दै भन्छिन् ‘घरमा आएर श्रीमान्लाई सम्झाउन खोज्दा ‘हुँदैन म पनि बुबाको एउटै छोरा हुँ, छोरै चाहिन्छ मलाई’ भन्नुहुन्थ्यो, त्यसपछि मैले लगातार पाँचवटी छोरी र एक छोरा जन्माइदिएँ ।’

hhh

आफ्ना कुरा निर्धक्क भन्न रुचाउने रामामायाले पहिलो सन्तान बारीको पाटामा जन्माईन, दोस्रो, घरको बुइँगलमा, तेस्रो र चौथो, पाँचौं सिमराको कोठामा, त्यसपछि बल्ल छोरा जन्मियो । जीवनमा धेरै दुःख सुख सम्हालि सक्नुभएकी राममाया प्याकुरेल मेरो जस्तो नियति अरुले भोग्नु नपरोस् भन्छिन् । 
छोरा जन्माएपछि घरपरिवार र श्रीमान् सबैले गरेको व्यवहार देख्दा उनि अहिले पनि तीन छक्क पर्छिन ‘छोरालाई जन्माएपछि म यो घरमा नै होइनजस्तो भयो, यो घरै परिवर्तन भएजस्तो भयो । सबैले मलाई राम्रो व्यवहार गर्नुभयो ।’ 
राममायाले छोरीहरूको पालामा भोक लाग्दा भनेको बेला खान पाइनन् तर छोरा पाएपछि छोराले फेरेको टालो पनि बाहिर लगेर सुकाउनु परेन, सासू–ससुरा र श्रीमान्ले धेरै माया र सहयोग गरेको उनी सुनाउछिन् । 
सुखदुःखको भारी बिसाउँदै राममाया भन्छिन् ‘त्यसबखत छोरा र छोरीमा यत्रो भेदभाव हुँदोरहेछ भनेर मनमनै सोचें, तर बाहिर कसैलाई पनि भनिनँ ।’ रामामाया जस्ता धेरै नेपाली महिलाको पीडा उस्तै छ । ठाउँ, परिवेश, जाति, धर्म र संस्कार फरक होला तर कथा उस्तै छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री