१३ औँ युनिग्लोब अन्तराष्ट्रिय व्यवस्थापन सम्मेलन सम्पन्न
युनिग्लोब कलेज, नयाँ बानेश्वरको प्राङ्गणमा माघ २३ र २४ गते दुई दिने १३ औँ युनिग्लोब अन्तराष्ट्रिय व्यवस्थापन सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरुलाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्दै अनुसन्धान र अन्वेषणमूलक शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो।
सम्मेलनको उद्घाटन समारोहमा युनिग्लोब कलेजका प्रधानाध्यापक डा. नर बहादुर विष्टले फ्रान्स, फिन्ल्याण्ड, बङ्गलादेश, भारत, स्लोभेनिया, इन्डोनेसिया, मलेसिया, र संयुक्त राज्य अमेरिकाबाट आएका महत्वपूर्ण अतिथिहरुलाई स्वागत गर्दै युनिग्लोब कलेजले शैक्षिक क्षेत्रमा अग्रणी भूमिका खेल्दै अनुसन्धानमूलक शिक्षण पद्धतिलाई प्रवर्द्धन गरिरहेको कुरामा प्रकाश पार्नुभयो।
कार्यक्रमका सभापति तथा सम्मेलन प्रमुख प्रा.डा. राधेश्याम प्रधानले अनुसन्धानमूलक शिक्षण पद्धतिमा जोड दिँदै अर्थशास्त्र, वित्तशास्त्र, बजार व्यवस्थापन, तथा संस्थागत सुशासनमा नयाँ अनुसन्धान र अन्वेषणले शिक्षामा नयाँ आयाम थप्ने उल्लेख गर्नुभयो। सम्मेलनका प्रमुख अतिथि तथा पोखरा विश्वविद्यालयका उपकुलपति प्रो. डा. वेदराज के.सी.ले उद्घाटन सम्बोधन गर्दै सम्मेलन व्यवसाय व्यवस्थापनको क्षेत्रमा अग्रणी विज्ञहरूबाट अनुभव सँगाल्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो।
युनिग्लोब कलेजका कार्यकारी निर्देशक डा. गंगाधर दाहालले कार्यक्रममा उपस्थित आयोजक, प्रतिनिधि, अनुसन्धानकर्ता तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। विभिन्न देशका प्रतिनिधिहरूले आफ्नो मन्तव्य राख्दै युनिग्लोब कलेजद्वारा आयोजित अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलनको प्रशंसा गरे र यस्ता कार्यक्रमहरूले आपसी सम्बन्धलाई मजबुत बनाउने विश्वास व्यक्त गरे।
यस वर्षको सम्मेलनमा मूल रूपमा १० वटा विषयमा कार्यपत्र प्रस्तुत गरिएका थिए भने कुल २६५ अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत गरिए। कार्यक्रममा ५० भन्दा बढी विदेशी तथा ८०० भन्दा बढी स्वदेशी प्रतिनिधिहरूको सहभागिता रहेको थियो, जसले गर्दा नेपालमै शैक्षिक क्षेत्रमा आयोजित सबैभन्दा ठूलो र ऐतिहासिक कार्यक्रम बनेको बताइएको छ।
कार्यक्रमको अन्त्यमा विदेशी पाहुनाहरूको सम्मानमा नेपाली सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो।
प्रतिक्रिया