शनिबार, १५ वैशाख २०८१

पासाङल्हामु मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने

समयपोष्ट २०८० फागुन ६ गते १०:५८


विवादका कारण लामो समयदेखि अलपत्र अवस्थामा रहेको नेपालगञ्जको पासाङल्हामु मार्ग निर्माण सुरु भएको छ । सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार नेपालगञ्जको सुर्खेतरोडबाट टाँगा स्टेशन जोड्ने पाँच सय ५० मिटर लामो र आठ मिटर चौडा पासाङल्हामु मार्ग नगरस्तरीय रु ७५ लाख बजे कालोपत्र हुने भएको हो । पासाङल्हामु मार्ग आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको इन्जिनियर मबिन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । विगतमा सडक विस्तारका क्रममा अतिक्रमित संरचना स्थानीयले नभत्काएका कारण सडक निर्माण अलपत्र परेको थियो । अहिले स्थानीयले सडक विस्तारका लागि संरचना आफैँ भत्काएपछि सडक निर्माण सुरु भएको श्रेष्ठले जानकारी दिनुभयो ।

लामो समयदेखि अलपत्र सडक निर्माण सुरु भएसँगै स्थानीय खुसी भएका छन् । जीर्ण अवस्थामा भएको सडक निर्माण भएपछि सो मार्गमा व्यावसायिक चहलपहलसमेत बढ्ने स्थानीय दमनकुमार श्रेष्ठले बताउनुभयो । सडक निर्माणको योजनालाई समयमै सम्पन्न गर्न प्राथमिकताका साथ कार्यान्वयन सुरु भएको नगरप्रमुख विष्टले जानकारी दिनुभयो । “समयमै गुणस्तरीयरूपमा पूर्वाधार विकासका योजना सम्पन्न गर्न धमाधम काम सुरु भएको छ”, नगरप्रमुख विष्टले भन्नुभयो, “योजना कार्यान्वयनको सुरुआतसँगै अनुगमनलाई पनि प्राथमिकता दिइएको छ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री