मंगलबार, ३१ असार २०८२

गुणस्तरीय शिक्षाको विकासमा केन्द्रित हुन राष्ट्रपतिको आह्वान

समयपोष्ट २०८० फागुन २ गते १७:४९


राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा प्रणाली गुणस्तरीय शिक्षाको विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै त्यस निम्ति सम्बद्ध पक्षलाई इमानदारीपूर्वक काम गर्न आह्वान गर्नुभएको छ ।

Advertisement

पाँचथरको फिदिमस्थित पाँचथर बहुमुखी क्याम्पसले आर्थिक रूपमा आफूलाई सबल तुल्याउन अक्षयकोष स्थापना गर्ने उद्देश्यले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रियस्तको शिक्षा आजको आवश्यकता हो भन्नुभयो ।

“हरेक व्यक्तिलाई व्यावसायिक, स्वावलम्बी र आत्मनिर्भर बनाउने शिक्षा आजको आवश्यकता हो । मुलुकको सर्वाङ्गिण विकासका निम्ति अध्ययन–अध्यापन प्रणालीमा सुधार अपरिहार्य छ,” आधुनिक शिक्षाका माध्यमबाट राष्ट्रलाई सबल बनाउनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले भन्नुभयो । सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्वपरिवेशअनुसारको शिक्षा नीति र पाठ्यक्रमको विकासमा उहाँले जोड दिनुभयो ।

“प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठन पद्धतिको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुरुपको शिक्षा विकास गर्नेतर्फ अबका हाम्रा कदम केन्द्रित हुनुपर्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी भएकाले श्रमको सम्मान गर्ने शिक्षाको विकासमा लाग्न आह्वान गर्नुभयो ।

राष्ट्रपति पौडेलले राष्ट्रका प्राकृतिक सम्पदाको अधिकतम सदुपयोग गरी कृषिको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले जलवायु परिवर्तनका प्रभावबारे गम्भीर हुन आग्रह गर्नुभयो । साथै उहाँले स्वदेशमा पौरख गर्न युवा पुस्तालाई अनुरोध गर्नुभयो ।

Advertisement

राष्ट्रपति पौडेलले समृद्धिका आधार कृषिको आधुनिकीकरण, पर्यटन क्षे त्रको विकास र ऊर्जा उत्पादन भएकाले यी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले पूर्वीय ज्ञान, परम्परा र सभ्यताको केन्द्र नेपाल भएकाले सबैतिर ज्ञानको ज्योति फैलाउन आवश्यक छ भन्नुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले बहुलता र एकतालाई अङ्गिकार गरेको बताउँदै राष्ट्रपति पौडेलले सवल, समावेशी र उन्नत राष्ट्र निर्माण सबैको साझा दायित्व भएको बताउनुभयो ।
पाँचथर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खेमनाथ खतिवडाले घट्दो विद्यार्थी सङ्ख्या र स्रोत साधनको सीमिततालाई ध्यानमा राखेर क्याम्पस सञ्चालनका लागि दिगो अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको बताउनुभयो ।

महायज्ञमा भागवत कथा वाचक दीनबन्धु पोखरेल, बौद्ध गुरु खेन्पो फुर्तेम्बा शेर्पा र मुन्धुमका प्रवचनकर्ता चन्द्रकुमार शेर्माले प्रवचन दिनुहुनेछ । हालसम्म १५ हजार विद्यार्थीले उक्त क्याम्पसमा अध्ययन गरिसकेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री