शनिबार, ८ वैशाख २०८१

ऋण लिँदाको सर्त ‘छोरीको बिहा’: कल्पना र अनिताको यस्तो छ व्यथा

समयपोष्ट २०७४ फागुन १३ गते १:५०

बझाङ – कालो अक्षर नचिनेकै बेला ९ बर्षको उमेरमा छिकेमी गाउँका १२ बर्षीय  केटासँग कल्पना बोहोराको मागी बिहा भयो । १४ बर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी उनी अहिले १८ बर्षकी हुँदा तेस्रो सन्तानकी आमा बनेकी छिन् ।

Advertisement

आफूले नमाने पनि बाबुआमाका कारण बिहा गरेको बताउने कल्पनाका साथमा अहिले तीन छोरी छन् । आजको नागरिक दैनिकमा यो समाचार छ ।

आमाको उपचारको लागि ससर्त काढेको ऋणका कारण कल्पनालाई बाल बिवाहको मार खेप्नुपर्यो ।

कल्पना भन्छिन्, ‘म ६ महिनाकी थिएँ । बिरामी आमाको उपचारको लागि छिमेकी गाउँका एक व्यक्तिबाट १५ हजार नगद लिएर छोरी ठूली भएपछि बिहे गरिदिने सर्तमा बाबुले बिक्री गरेका थिए । त्यसकारण मेरो सानैमा बिहा भयो ।’

१८ बर्षमा तीन सन्तानकी आमा बनिसकेकी उनलाई छोरा नजन्माएको भन्दै परिवारले नानाथरिका दुख दिने गरेका छन् । श्रीमान् तेस्रो छोरी जन्मेको भोलिपल्ट भारत गए ।

त्यसयता परिवारले अझै बढी सास्ती दिन थालेको बुगल नगरपालिका ३ की कल्पनाको दुखेसो छ । छोरा नजन्माएकै कारण अहिले उनलाई घरनिकाला गरिएको छ ।

माइतीको साहारमा बस्दै आएकी उनलाई न्याय खोज्न जाने ठाउँबारे थाहा छैन । घरका सबैले ‘किनेर ल्याएको र तेरो आमाको प्राण जोगाएको’ भन्दै कुटपिट गर्ने गरेको उनले बताइन् ।

बालविवाहका कारण सास्ती भोग्ने कल्पना प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै अनिता बोहोराको पनि १२ बर्षको उमेरमा बिहा भयो ।

१५ बर्षको उमेरमा छोरा जन्मेपछि एक बर्ष नपुग्दै उनको श्रीमान घाँस काट्ने क्रममा भिरबाट लडेर बिते । श्रीमानको मृत्युपछि उनको जिन्दगी निकै कष्टकर बनेको छ ।

उनी भन्छिन्, ‘१९ बर्षकी भएँ । सँगैका साथीसंगाती विद्यालयमा पढ्दैछन्, म चाहिँ बिधुवाँ भएँ । जीवन कसरी काट्ने भन्ने चिन्तामा छु । परिवारसँगै गाउँलेले पोइटोका भनेर हेला गरिरहेका छन् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री