हायात होटेलमा राज्यको ३०४ रोपनी जग्गा : तर सरकारको सेयर ३९.७७ बाट झारेर जम्मा ९.०१ प्रतिशतमा सीमित, खुलासा भएको एक वर्षसम्म सरकार मौन

बौद्धस्थित होटेल हायातको जग्गा विवादमा हस्तक्षेप गरी दोषीमाथि कारबाही गर्न संसदीय समितिले एक वर्षअघि दिएको निर्देशन कार्यान्वयनमा सरकारले रुचि देखाएको छैन । सरकार र निजी समूहको संयुक्त लगानी रहेको होटेल हायातको सञ्चालक समितिले गैरकानुनी रूपमा सरकारको सेयर ३९.७७ प्रतिशतबाट ९.०१ प्रतिशतमा झारिदिएपछि समितिले छानबिन गरेर कारबाहीको सिफारिस गरेको थियो ।

Advertisement

सरकारी कागजपत्र किर्ते गरी आफूखुसी निर्णय गरेर राज्यलाई क्षति पुर्‍याएको भन्दै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गत चैतमा दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो । तर, तीन सय चार करोडको सम्पत्तिमा सरकारको सेयर ३०.७६ प्रतिशत घट्दा पनि सरकार मौन बसेको छ ।

बौद्धमा अन्तर्राष्ट्रिय चेन होटेल हायात निर्माण तथा सञ्चालन गर्ने प्रस्ताव लिएर आएका राधेश्याम सर्राफ र रामलाल श्रेष्ठको समूहले साझेदार बन्न सरकारलाई पनि सहमत गराएका थिए ।

५ मंसिर ०४९ सालको मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले तारागाउँ विकास समितिको एक सय ५० रोपनी जग्गा सेयरका रूपमा हायात होटेलमा लगानी गरेको थियो । यो जग्गाको मूल्य प्रतिआना ६२ हजार पाँच सयका दरले १५ करोड मूल्यांकन गरिएको थियो । सो जग्गामा रहेका भौतिक संरचनाको थप दुई करोड पनि सरकारको तर्पmबाट लगानी भएको थियो ।

सुरुवातमा सरकारले १७ करोड लगानी गर्दा सर्राफ समूहले १५ करोड ४५ लाख र श्रेष्ठ समूहले १० करोड ३० लाख लगानी गरेका थिए । यसरी सरकारको ३९.७७ प्रतिशत तथा सर्राफ र श्रेष्ठ समूहको ६०.२३ प्रतिशत सेयरबाट होटेल निर्माण सुरु भएको थियो ।

Advertisement

होटेल सञ्चालन गर्न सरकारको तारागाउँ विकास समितिबाट तीनजना, सर्राफ र श्रेष्ठ समूहबाट पाँचजना र स्वतन्त्र एकजना गरी नौजनाको समिति गठन गरिएको थियो ।
सांस्कृतिक केन्द्रसहितको होटेल निर्माण गर्न एक सय ५० रोपनी जग्गा अपर्याप्त हुने भन्दै ५ जेठ ०५१ मा सरकारको थप एक सय ५४ रोपनी जग्गा पनि हायातले लिजमा लिने निर्णय भएको थियो । प्रतिरोपनी वार्षिक १० हजार रुपैयाँका दरले एक सय ५४ रोपनी २९ वर्षका लागि होटेललाई दिने सम्झौता भएको थियो ।

सरकार र निजी सञ्चालकहरूबीच समझदारी (एमओयू) हुँदा होटेलमा एक अर्ब ३० करोड लगानी गर्ने निश्चित भएको थियो । एक सय ५० रोपनी जग्गा र संरचना बिक्री तथा एक सय ५४ रोपनी जग्गा लिजमा दिएबापत सरकारको ३९.७७ प्रतिशत सेयर कायम हुनुपर्ने थियो । तर, होटेलको लगानी तीन अर्ब चार करोड पुगेको भनेर सर्राफ र श्रेष्ठ समूहले सरकारको लगानी अहिले ९.०१ प्रतिशतमा झारिदिएका छन् । होटेलको लगानी बढाउँदा महत्वपूर्ण साझेदार सरकारसँग सहमति लिएका छैनन् । त्यति मात्र होइन, यसरी लगानी थप्न उनीहरूले कहाँबाट पुँजी ल्याए भनेर कारोबार पनि देखाउन सकेका छैनन् ।

सरकारलाई अल्पमतमा पार्न निजी साझेदारहरूले लागत मूल्य योजनाबद्ध रूपमा क्रमशः बढाउँदै ल्याएका छन् । एमओयूमा हस्ताक्षर हुँदा लगानी एक अर्ब ३० करोड थियो, तर आफूखुसी बढाएर एक अर्ब ५० करोड, दुई अर्ब १८ करोड र तीन अर्ब चार करोड पुर्‍याइएको छ । यस विषयमा सरकारको सहमति छैन । अझ, लगानी थपिएको र सरकारको सेयर घटेको भन्दै सञ्चालक समितिमा पनि सरकारको प्रतिनिधित्व तीनजनाबाट घटाएर एकजनामा सीमित गरिएको छ । त्यसैले सरकारविरुद्ध निर्णय गर्न उनीहरूलाई सजिलो भएको छ ।

एक सय ५० रोपनी जग्गा र दुई करोडको भौतिक संरचना बिक्री तथा एक सय ५४ रोपनी जग्गा भाडामा दिएको सरकारलाई होटेलले २२ वर्षसम्म एक रुपैयाँ पनि प्रतिफल दिएको थिएन । बरु, ३०.७६ प्रतिशत सेयर घट्दा राज्यलाई झन्डै एक अर्ब क्षति पुगेको छ ।

अझ, होटेलले २९ वर्षलाई लिजमा पाएको जग्गा कागज किर्ते गरेर ४९ बनाएको संसदीय समितिको ठहर छ । उक्त सम्झौता रद्द गर्न र त्यस्तो कार्यमा संलग्नलाई कारबाही गर्न समितिले निर्देशन दिएको थियो ।

होटेलमा वैदेशिक लगानी ल्याएकाले सरकारको सेयर स्वामित्व घट्दै गएको निजी साझेदारहरूको दाबी छ । तर, कुन बैंकमार्फत कुन मितिमा कति रकम आयो भन्ने खुलाउन सकेका छैनन् । लगानी नै नगरी झुटो दाबी गरेर सरकारको सेयर घटाएको संसदीय समितिको ठहर छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ को दफा ३ अनुसार विदेशी लगानी ल्याउँदा उद्योग विभाग, घरेलु तथा साना उद्योग विभाग वा सरकारले तोकेको अन्य कुनै निकायबाट स्वीकृति लिनुपर्ने हुन्छ । तर, हायातले कुनै निकायसँग पनि स्वीकृति लिएको छैन ।

विदेशी लगानी ल्याउँदा राष्ट्र बैंकको स्वीकृति पनि लिनुपर्ने हुन्छ । सर्राफ–श्रेष्ठ समूहले नेपालको ग्रिन्डलेज बैंक (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैंक) मार्फत विदेशी रकम ल्याएर लगानी गरेको दाबी गर्दै आएको छ । तर, राष्ट्र बैंकलाई त्यसबारे जानकारी नै छैन ।

तारागाउँ विकास समितिको नाममा रहेको सेयर घटाउँदा पनि होटेल व्यवस्थापनले कानुनी प्रक्रिया पूरा गरेको छैन । नियमअनुसार अर्थ मन्त्रालयको सहमतिमा मात्र सरकारी स्वामित्वको सेयर थपघट गर्न सकिन्छ । तर, हायातले अर्थलाई जानकारी नै नदिई सरकारका नाममा भएको सेयर घटाउँदै लगेको संसदीय समितिको छानबिनमा देखिएको छ ।

सरकारको सेयर घटाउन होटेल व्यवस्थापनले अपनाएका हरेक प्रक्रिया गलत रहेको भन्दै त्यस्तो कार्यमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको थियो ।

होटेल परिसरमा सांस्कृतिक पर्यटन केन्द्र पनि निर्माण गर्ने उद्देश्य भएको भन्दै एक सय ५० रोपनी सार्वजनिक जग्गा सहुलियतमा बिक्री गरेको थियो र थप जग्गा लिजमा दिएको थियो । तर, सम्झौताको २७ वर्षसम्म पनि हायात परिसरमा सांस्कृतिक पर्यटन केन्द्र निर्माण भएको छैन ।

सो जग्गा रजिस्ट्रेसन पास गरेबापत होटेलका तर्फबाट सरकारलाई बुझाउनुपर्ने रकमसमेत सरकारले मिनाहा गरेको थियो । संसदीय समितिले सरकारी जग्गा हायात होटेलको नाममा रजिस्ट्रेसन पास गरी हस्तान्तरण गर्ने काम मालपोत ऐन ०३४ विपरीत भएको भन्दै उक्त जग्गा फिर्ता ल्याउन पनि सरकारलाई निर्देशन दिएको थियो ।

हायात होटेलबारे संसदीय समितिले दिएका १४ निर्देशनमध्ये अहिलेसम्म एउटा निर्देशन पनि कार्यान्वयन नभएको तारागाउँ विकास समितिका अध्यक्ष प्रह्लाद न्यौपानेले बताए । ‘संसदीय समितिको निर्देशन आएको हो, तर तारागाउँ विकास समितिको अघिल्लो कार्यसमितिले यस विषयमा चासो राखेन,’ उनले भने, ‘नयाँ समितिको तर्पmबाट मैले सञ्चालक समितिमा उपस्थित भएर ६ बुँदे फरक मत राखेको छु ।’ सरकारले गत ३ मंसिरमा न्यौपानेलाई तारागाउँको अध्यक्ष नियुक्त गरेको हो ।

पर्यटनमन्त्री योगेश भट्टराई भन्छन्–सरकारले गम्भीरताका साथ काम गरिरहेको छ

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले हायात होटेलको जग्गा विवादमा हस्तक्षेप गर्न र दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो । त्यसमा अहिले सरकारले के गर्दै छ ?

सरकार त्यसमा गम्भीरताका साथ काम गरिरहेको छ ।

प्रस्ट बताइदिनुस् न, किनकि यो भ्रष्टाचारको खुलासा भएको एक वर्ष भइसकेको छ ?

गम्भीरताका साथ काम भइरहेको छ ।

हायात होटेलमा ३०४ रोपनी जग्गा लगानी गरेको सरकारको नाममा रहेको सेयर ३९.७७ प्रतिशतबाट झारेर ९.०१ प्रतिशतमा पु¥याइएको छ । संसदीय समितिले त्यसमा पनि छानबिन गरी दोषीमाथि कारबाही गर्न भनेको थियो । त्यसमा के हुँदै छ ?

सरकारको सेयर बढाउनुपर्छ ।

तपाईं गम्भीरताका साथ काम भइरहेको छ भनिरहनुभएको छ, तर तारागाउँ विकास समितिले संसदीय समितिले दिएको निर्देशनअनुसार काम हुन नसकेको बताएको छ । गम्भीरताका साथ काम भएको भए किन कारबाही भएको छैन ?

नेपाल सरकारको सेयर त्यसरी घटाउन मिल्दैन । सेयर बढाउनुपर्छ । त्यसको पहल तारागाउँ विकास समितिले गर्छ ।

संसदीय समितिले १५४ रोपनी जग्गाको लिज खारेज गर्न र सरकारको सेयर घटाउने काममा संलग्नहरूलाई कारबाही गर्न भनेको थियो । त्यसमा कति काम गर्नुभयो ?

संसदीय समितिको प्रतिवेदन र हाम्रो आफ्नै निष्कर्षका आधारमा पनि जे गडबड भएको छ, त्यसमा हामी सचेत छौँ । गडबड गर्नेहरूमाथि कारबाही हुन्छ ।

संसदीय समितिले १४ वटा निर्देशन दिएको थियो, कतिवटा कार्यान्वयन भए ?

मैले प्रस्ट भनेँ नि, हामी गम्भीरताका साथ काम गरिरहेका छौँ, परिणाम आएपछि म विस्तृतमा सबै कुरा भन्छु ।

परिणाम आउन कति समय लाग्छ ?

काम गर्दै छौँ ।आजको नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगानाले लेखेका छन्

प्रतिक्रिया

सम्बन्धित सामाग्री