
सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालनको तयारीलाई अघि बढाएको छ। सरकारको १ सय दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न यो सेवा सुरु गर्न लागिएको हो।
पहिलो चरणमा १ सय दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यसअन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायातसँगको सहकार्यमा कम्तीमा ७ वटा बसलाई ‘ब्लु बस’का रूपमा सञ्चालन गर्ने योजना छ। काठमाडौँ उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायी सङ्घसँग समन्वय गरी कम्तीमा १८ वटा बस सञ्चालनको तयारी गरिएको मन्त्रालयले जनाएको छ।
कार्यविधि र बजेटको तयारी
ब्लु बस सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि, समय सारिणीसहितको कार्ययोजना र लागत अनुमानको मस्यौदा प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको छ। प्राप्त प्रस्तावका आधारमा आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी भइरहेको छ भने सेवा सञ्चालनका विभिन्न विकल्पसहितको प्रस्ताव मन्त्रालयमा निर्णयका लागि पेस गरिएको छ।
आगामी आर्थिक वर्षमा सातै प्रदेशमा यो सेवा विस्तार गर्न आवश्यक बजेट तथा कार्यक्रमसमेत प्रस्ताव गरिएको छ। यस सेवाबाट विशेष गरी विद्यार्थी, श्रमिक, कर्मचारी तथा दैनिक रूपमा सार्वजनिक यातायात प्रयोग गर्ने महिलालाई सुरक्षित यात्राको वातावरण मिल्ने र दुव्र्यवहार न्यूनीकरण हुने अपेक्षा छ।
सुरक्षाका लागि सिसीटिभी र ड्यासक्याम
सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा तथा अपराध नियन्त्रणका लागि सिसीटिभी र ड्यासक्याम जडानलाई प्राथमिकता दिइएको छ। हालसम्म साझा यातायातका १ सय ११ बस, महागर यातायातका ४६ बस तथा पाँचपोखरी सुनौलो यातायातका ३ बसमा सिसीटिभी तथा ड्यासक्याम जडान गरी सञ्चालनमा ल्याइएको छ।
अन्य सार्वजनिक यातायातका साधनमा पनि यो प्रविधि विस्तार गर्ने काम भइरहेको छ र यसको अनुगमन ट्राफिक प्रहरीमार्फत गर्ने व्यवस्था मिलाइएको छ। सार्वजनिक सवारीलाई प्रविधिमैत्री, सुरक्षित र यात्रुमैत्री बनाउने मापदण्डको मस्यौदा तयार गरी स्वीकृतिका लागि मन्त्रालयमा पठाइएको छ।










प्रतिक्रिया