शनिबार, १५ वैशाख २०८१

शोधान्तर घाटा ८५ अर्ब, हिमाली क्षेत्रमा मूल्य बढ्यो

समयपोष्ट २०७५ माघ ३ गते २०:५७

रमेश लम्साल

Advertisement

हिमाली क्षेत्रमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको चालू आर्थिक वर्षको पाँच महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उपभोक्ता मुद्रास्फीति हिमालमा चार दशमलव एक प्रतिशत रहेको पाइएको हो ।

यस्तै पहाडमा तीन दशमलव आठ प्रतिशत, काठमाडौँ उपत्यकामा तीन दशमलव सात प्रतिशत र तराईमा तीन दशमलव सात प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः पाँच दशमलव पाँच प्रतिशत, चार दशमलव आठ प्रतिशत, तीन दशमलव चार प्रतिशत र चार दशमलव तीन प्रतिशत रहेको थियो ।

नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव सात प्रतिशत र भारतको दुई दशमलव दुई प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति चार दशमलव दुई प्रतिशत र भारतको पाँच दशमलव दुई प्रतिशत थियो ।

वार्षिक बिन्दुगत थोक मुद्रास्फीति सात दशमलव दुई प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति एक दशमलव आठ प्रतिशत रहेको थियो । पेट्रोलियम पदार्थ, तयारी पोशाक, आधारभूत धातु, यातायातका उपकरण तथा पार्टस्, गैरखाद्य पदार्थलगायतका वस्तुको मूल्यवृद्धि भएकाले समग्र थोक मुद्रास्फीति बढ्न गएको हो ।

उपभोक्ता मुद्रास्फीति गत मङ्सिर महीनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति चार दशमलव दुई प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति सिमान्तरुपले मात्र बढेका कारण समग्र उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा न्यून रहेको हो ।

गैर–खाद्य तथा सेवा मुद्रास्फीति समीक्षा अवधिमा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति छ दशमलव तीन प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति पाँच दशमलव तीन प्रतिशत रहेको थियो । घरायसी सेवा तथा उपयोगिता, यातायात, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरणलगायतका वस्तु तथा सेवाको मूल्य वृद्धि भएकाले समग्र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको राष्ट्र बैंकले जनाएको छ ।

विप्रेषण आप्रवाहमा वृद्धि

बैंकका अनुसार चालू आवको पाँच महीनामा विप्रेषण आप्रवाह ३१ दशमलव नौ प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७६ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव आठ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह तीन दशमलव दुई प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २९ दशमलव ८ प्रतिशतले वृद्धि भई रु चार खर्ब २८ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शून्य दशमलव पाँच प्रतिशतले घटेको थियो ।

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४० दशमलव दुई प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई दशमलव पाँच प्रतिशतले घटेको थियो । मलेसिया जाने नेपालीको सङ्ख्या उल्लेख्यमात्रामा घटेको छ ।

शोधान्तर घाटा ८५ अर्ब

यस्तै बैंकका अनुसार समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई रु एक खर्ब १९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु ६४ अर्ब ११ करोड रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महीनामा रु ६२ करोड तीन लाख रहेको चालू खाता घाटा समीक्षा अवधिमा रु एक अर्ब चार करोड ४५ लाख पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु ८५ अर्ब ३२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु पाँच अर्ब ४८ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महीनामा रु पाँच करोड ३९ लाख घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा रु ७५ करोड एक लाख पुगेको छ ।

बैंककाअनुसार गत असारसम्म कूल विदेशी विनिमय सञ्चिति रु ११ खर्ब दुई अर्ब ५९ करोडबाट शून्य दशमलव तीन तीन प्रतिशतले कमी आई २०७५ मङ्सिर मसान्तमा रु १० खर्ब ६५ अर्ब ८० करोड रहेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा रु १० अर्ब आठ करोडबाट सात दशमलव नौ प्रतिशतले कमी आई २०७५ मङ्सिर मसान्तमा रु नौ अर्ब २९ करोड रहेको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तको रु नौ खर्ब ८९ अर्ब ४० करोडको तुलनामा २०७५ पुस मसान्तमा रु ६६ अर्ब २६ करोडले कमी आई रु नौ खर्ब २३ अर्ब १४ करोड रहेको छ । कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव सात प्रतिशत छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री